नेकपा विवाद : अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वार्ता


२३ कार्तिक २०७७, आईतवार १५:५५ मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको चर्को द्वन्द्वबीच आइतवार प्रधामन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उनका सहयोगी नेताहरुसँग छलफल गरेका छन्।

आइतवार दिउँसो नेताहरु सुरेन्द्र पाण्डे र भीम रावललाई साथमा लिएर बालुवाटार छिरेका नेपालसँग ओलीले करिब २ घण्टा लामो छलफल गरेको स्रोतले जनाएको छ।

आफूलाई घेर्ने रणनीतिसहित शनिबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा पाँचजना सचिवालय सदस्यहरुले नेकपाका पहिलो अध्यक्ष ओलीलाई पार्टी बैठक डाक्न लिखित निवेदन बुझाएपछि संवाद भएको हो।

सचिवालयका बहुमत सदस्यहरुले बैठक बोलाउन माग गरेपछि रणनीति तय गर्न ओलीले संवादलाई तीव्र बनाएका हुन्। पछिल्लो समय दाहालसँग दूरी बढेपछि ओलीले नेपालसँग निकटता बढाएका छन्। तर नेता नेपालले ओलीले जहिले प्रयोग मात्रै गरिरहेको भन्दै अविश्‍वास प्रकट गरिरहेका छन्।

कर्णालीको विवाद, राजदूत नियुक्ति, मन्त्रिपरिषद्का सदस्य हेरफेर र भारतीय जासुसी संस्थाका प्रमुख सामन्त गोयलसँग भेट गरेर विवादमा तानिएपछि प्रधामन्त्री ओलीविरुद्ध कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपालले मोर्चाबन्दी गरेका छन्। उनीहरुलाई उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि साथ दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here