पूर्व सांसद वीरबहादुर लामाको निधन


२३ कार्तिक २०७७, आईतवार ०८:३९ मा प्रकाशित

काठमाडौं । पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ।

दुवै मिर्गौलाले काम गर्न छाडेका पूर्व सांसद तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको आज विहान निधन भएको लामाकी छोरी श्रमिक लामाले जानकारी दिइन्।

२०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति बनेका लामा २०५६ सालमा मकवानपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा जितेका थिए।

२०६२–०६३ सालको जनआन्दोलनपछि पुनर्स्थापित संसदको सदस्य रहेका लामा २०६४ सालको पहिलो संविधानसभाको चुनावमा पराजित भएका थिए। लामा जिबिसका सभापति हुँदा काठमाडौंलाई तराईसँग जोड्ने मकवानपुको पहाडी क्षेत्रमा सडक निर्माण भएको हो। २०३३ सालमा नख्खु जेलबाट सुरुङ खनेर भाग्ने १५ जना राजबन्दी मध्य लामा एक थिए।

मकवानपुर फाखेलका स्थानीय बासिन्दा लामाले तत्कालीन नेकपा माले निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए। जातीय पहिचानसहितको राज्य निर्माणको विषयमा नेकपा एमालेभित्र भएको विवादपछि अशोक राईको नेतृत्वमा लामासहितका नेताहरुले पार्टी छाडेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here