काठमाडौं । प्रहरीले काठमाडौंको कालीमाटीबाट इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टाबाजी गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत घर भएका कुलदिप शारण, सन्जिव शारण, ३८ वर्षीय अजय गौतम, ४६ वर्षीय नविन जैन, प्रदिप घिमिरे, काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ५१ वर्षीय उत्तम सापकोटा र काठमाडौं महानगर–१३ सोल्टिमोड वस्ने ५५ वर्षीय अनिल कुमार बमसल रहेका छन् ।
कुलदिप शारणले आईपीएल क्रिकेटमा सट्टाबाजी गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उक्त कार्यमा संलग्न अन्य ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कुलदिप शारण कमलपोखरीस्थित होटल कोनार्क इनको कोठा नं– १०५ मा बस्ने गरेको पाइएको छ ।
प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरका अनुसार उनीहरुको साथबाट २ वटा सवारी साधन र १ लाख ८५ हजार १२० नेरु बरामद भएको छ ।
पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





