आइपीएलः चेन्नईलाई ७ रनले पराजित गर्दै हैदराबादको दोस्रो जित


१७ आश्विन २०७७, शनिबार ०८:२० मा प्रकाशित

काठमाडौं । चेन्नई सुपर किग्सलाई ७ रनले हराउँदै सनराइजर्स हैदराबादले यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ ।

शुक्रबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि रबिन्द्र जडेजाले ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीले जित्न सकेन । कप्तान महेन्द्र सिंह धोनीले अविजित ४७ रन जोड्दा फाप डु प्लेसिसले २२ रनमा आउट भए । साम करन १५ रनमा अविजित रहे ।

हैदराबादका टी नटराजनले २ विकेट लिए । भुवनेश्वर कुमार र अब्दुल समदले १÷१ विकेट लिए ।

जितसँगै हैदराबादले ४ खेलमा दुई जितसहित ४ अंक जोडेको छ । हैदराबाद चौंथो स्थानमा समेत उक्लिएको छ । चेन्नई भने तीन हार र एक जितसहित २ अंकका साथ तालिकाको पुछारमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here