मनाङ । हिमालपारिको जिल्ला मनाङमा करारका एक चिकित्सकको भरमा स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ ।
जिल्ला अस्पताल मनाङमा जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ । एक चिकित्सकले जिल्लाका बिरामीलाई स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने अवस्था छ । मनाङमा कोभिड–१९ को सङ्क्रमणले अझ समस्या थपिएको छ ।
सुगम क्षेत्रमा धेरै चिकित्सक रहने भए पनि ग्रामीण क्षेत्रमा भने चिकित्सकको अभाव हुने गरेको छ । कोरोना सङ्क्रमणको सङ्ख्या र बिरामीको अवस्था हेर्दा स्वास्थ्य क्षेत्रमा धेरै जनशक्ति हुनुपर्ने हो तर कतिपय सामग्री जनशक्तिको अभावमा चलाउनसमेत सकिएको छैन । जिल्ला अस्पताल मनाङमा मेडिकल अधिकृत एवं कोरोना फोकल पर्सन डा सन्तोष अधिकारी मात्रै छन् ।





