कोरोना भाइरस संक्रमणबाट नेपालमा थप पाँच जनाको मृत्यु


२० भाद्र २०७७, शनिबार १२:२१ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप पाँच जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पर्सा, काभ्रे, मोरङ, बुटवल र नवलपरासीका हुन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत विराटनगरकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार विराटनगर ११ की ४३ वर्षीया महिलाको उपचारको क्रममा शुक्रबार बेलुका साढे ६ बजे मृत्यु भएको हो ।

विराटनगरको न्यूरो अस्पतालबाट श्वासप्रश्वासमा समस्या, पेट र छातीको दुखाईपछि रेफर भएकाले प्रतिष्ठानको कोभिड अस्पतालमा बिहीबार भर्ना गरिएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

प्रवक्ता सापकोटाका अनुसार महिलालाई बिहीबार बिहान पौने ११ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । महिलामा विगत ४ वर्षदेखि उच्च रक्तचापको समस्या थियो ।

यससँगै प्रदेश १ मा हालसम्म ३६ संक्रमितको मृत्यु भएको छ । जसमा प्रदेश १ का २४ र प्रदेश २ को १२ जना रहेका छन् । प्रतिष्ठानमा हालसम्म उपचाररत २२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए । ज्वरो र स्वासप्रस्वासको समस्या रहेका दुबैको भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो ।

कोरोना संक्रमण पुष्टि भएका बर्दिबासका ७६ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि १५ दिनअघि अस्पताल भर्ना गरिएका उनको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।

अस्पताल भर्ना भएपछि कोरोना संक्रमणको आशंकामा स्वाब संकलन गरिएका उनको नतिजा पोजिटिभ आएको थियो । काभ्रेमा कोरोना संक्रमणबाट जिल्लाका दुई जना र अन्य जिल्लाका ३ गरी ५ जनाको मृत्यु भइसकेको छ । बनेपास्थित शीर मेमोरियल अस्पतालका कर्मचारी र बिरामी गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्सामा थप एक जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। कोरोना संक्रमणका कारण पकहा मैनपुर गाउँपालिका २ निवासी ७५ वर्षका बैजनाथ महतोको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

संक्रमित वृद्धको उपचारको क्रममा शुक्रबार राति साढे ११ बजे अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा मृत्यु भएको हो । भदौ ५ गते उनमा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना अस्पताल गण्डकमा उपचारको लागि भर्ना भएका थिए । उनी निमोनियाले ग्रसित थिए ।

योसँगै नेपालमा कोरोना संक्रमित मृत्यु हुनेको संख्या २ सय ७६ जना पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here