झापा । झापाको शिवसताक्षी नगरपालिकामा घाँटी काटिएको अवस्थामा एक पुरूषको शव फेला परेको छ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष भैरवकुमार श्रेष्ठका अनुसार, स्थानीय गोमन सिंह भनिने गोविन मगरको घाँटी काटिएको अवस्थामा शव फेला परेको हो ।
श्रेष्ठका अनुसार, मंगलबार साँझदेखि २९ वर्षीय मगर घरबाट हराइरहेका थिए । खोजतालासका क्रममा बुधबार बिहान १० बजे तिर शव फेला परेको हो ।
प्रहरीका अनुसार, घटनास्थलदेखि १०० मिटर उत्तर दूरीमा एउटा मोटरसाइकल पनि फेला परेको जनाइएको छ । स्थानीयवासीका अनुसार घटनास्थल नजिक फेला परेको मोटरसाइकल करिब १ महिनादेखि उनले नै चलाउँदै आएका थिए ।
घटनास्थललाई स्थानीय प्रहरीले घेराबन्दी गरेको छ । नेपाल प्रहरीको तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान सुरू गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।





