काठमाडौं । कोरोना संक्रमणका कारण २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ। सुनसरीको धरानमा ३, चितवनमा २, मोरङ, रुपन्देही, पोखरा र भक्तपुरमा एक, एक जनाको मृत्यु भएको हो । चितवनको भरतपुर महानगर २ क्षेत्रपुर बस्ने ५१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको हो। स्वासप्रश्वासमा समस्या भएर भदौ ५ गते भर्ना भएका पुरुषको पुष्पाञ्जली अस्पतालमा आज बिहान १० बजे निधन भएको अस्पतालले जनाएको छ।
चितवन मेडिकल कलेज (सिएमसी) मा उपचाररत एक कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको छ । हेटौंडा १९– की ७१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो। स्वासप्रश्वाससम्बन्धी समस्याका कारण भदौ ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि आएकी महिलामा भदौ ८ गते संक्रमण पुष्टि भएको थियो।
यसैगरी, रुपन्देहीमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा ४ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। उनका अनुसार भेन्टिलेटरमा उपचार भइरहेका ती संक्रमितको गएराति साढे २ बजे मृत्यु भएको हो।
त्यस्तै मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि लैजाने क्रममा गएराति मृत्यु भएकी ६२ वर्षीया महिलामा आज बिहान कोरोना संक्रमण पुष्टि भएको हो। उनी उच्च रक्तचापको बिरामी रहेको अस्पतालले जनाएको छ। यसैबीच, विराटनगरस्थित कोशी अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। सिरहाको लहानकी ६५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। झापा, मोरङ र सिराहाका कोरोना संक्रतिमको मृत्यु भएको हो। झापाको कमल गाउँपालिका ३ का ८३ वर्षीय वृद्धको आज विहान पौने ४ बजे उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए।
यस्तै, मोरङको बेलबारी नगरपालिका–५ की ५६ वर्षीया महिलाको आज बिहान सवा ३ बजे मृत्यु भएको छ । उनमा भदौ ९ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ। पहिला कोशी अञ्चल अस्पताल पुगेकी ती महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि प्रतिष्ठानमा रिफर गरिएको थियो। यसैबीच, प्रतिष्ठानमै उपचारका क्रममा रहेका सिराहाका ५५ वर्षीय पुरुषको हिजो बेलुकी मृत्यु भएको छ। भदौ ६ गते प्रतिष्ठानमा भर्ना भएका सिराहा नगरपालिका १ का पुरुषमा भदौ ७ गते कोरोना पुष्टि भएको थियो।
त्यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। मध्यान्ह करिब सभा १२ बजे पोखरा महानगरपालिका १६ संक्रमित पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।





