झापा गाउँपालिकामा गौहत्यापछि बल्झिएको विवाद साम्य, १० लाख राहत उपलब्ध गराउने सहमति


११ भाद्र २०७७, बिहीबार २०:२३ मा प्रकाशित

भद्रपुर । झापा गाउँपालिकामा गौहत्यापछि बल्झिएको विवाद साम्य भएको छ । विवादको क्रममा स्थानीय र प्रहरीबिच झडप हुँदा प्रहरीको गोली लागेर मृत्यु भएका ३८ वर्षीय रसिकुल आलमको परिवारलाई राहत स्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने सहमति पश्चात् विवाद साम्य भएको हो ।

पीडित पक्ष र झापा गाउँपालिका अध्यक्ष जयनारायण साह, उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीको उपस्थितिमा बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय झापामा बसेको बैठकमा सात बुँदे सहमति भएको छ । सात बुँदे सहमति पश्चात् पीडित पक्षले आलमको शव बुझ्नुका साथै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाइएको छ ।

झापा प्रशासन र पीडित पक्षबिच भएको सहमति अनुसार मृतक आलमको परिवारलाई राहत स्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउन सङ्घीय तथा प्रदेश सरकारलाई आग्रह गर्ने, तत्काल झापा गाउँपालिकाले मृतकका परिवारलाई काजक्रियाका लागि ५० हजार रुपैयाँ दिने, गृह मन्त्रालयले समेत घटनाको यथार्थ बुझ्न छानबिन समिति गठन गरिसकेकोले त्यस समितिलाई सहयोग गर्न जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गर्ने, मृतकका परिवारलाई रोजगारी र छोराछोरीलाई निःशुल्क शिक्षाको व्यवस्थापन मिलाउन सङ्घीय तथा प्रदेश सरकारलाई आग्रह गर्ने, शुक्रवार पोस्टमार्टम पश्चात् आलमको शव बुझ्ने, धार्मिक तथा सामाजिक सद्भाव कायम राख्ने लगायतको विषयमा सहमति भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए ।

पीडित पक्षले सहिद घोषणासहित ११ बुँदे माग राखेका थिए । तर, छलफलमा सहिद घोषणा नहुने बताएपछि सहमति जनाइएको थियो । यता बाछो मारेको आरोपीहरू सोही गाउँपालिका ३ कटुवामारीका ५२ वर्षीय अब्दुल आलम र सोही ठाउँका ५० वर्षीय ताजबुल आलमलाई बुधवार राती नै जनप्रतिनिधिको रोहवर छाडिएको थियो ।

आलमद्धयलाई छाडे पनि पीडित पक्षले विभिन्न माग राख्दै बिहीबार बिहान झापा गाउँपालिका ३ स्थित कामाटोलीमा सडक अवरोध गरी टायर बालेर प्रदर्शन गरेका थिए । घटना विवरण अनुसार इलाका प्रहरी कार्यालय कुमरखोदले बाछो काटेको आरोपमा मङ्गलवार दिउँसो आलमद्धयलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका आलमद्धय छाड्नु पर्छ भन्दै त्यहाँका गाउँवासीले बुधवार साँझ सुरक्षाकर्मीमाथि नै आक्रमण गर्दै सशस्त्र प्रहरीको गाडी तोडफोड गरेका थिए ।

गाउँले प्रहरीमाथि आक्रमण गरेपछि स्थितिलाई सामान्य बनाउन प्रतिकारमा प्रहरीले गोली चलाएको थियो । दुई वटा गोली ढाडमा लागेका आलमको उपचारको क्रममा बुधवार राती नै बिएण्डी हस्पिटलमा मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here