सोलुखुम्बुमा ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट


८ भाद्र २०७७, सोमबार ०७:५० मा प्रकाशित

सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ११ रमितेमा प्रहरी टोलीमाथि दुर्व्यवहार भएको छ । रमितेको एक होटलमा जाँडरक्सी खाएर हो–हल्ला गरिरहेका युवालाई सम्झाउन पुगेको प्रहरीमाथि कुटपिट भएको हो ।

प्रहरी निरीक्षक मन्दिप चौहानकाअनुसार आइतबार दिउँसो साढे ३ बजेको समयमा स्थानीय सन्तोष खड्काको होटलमा हो–हल्ला गर्नेलाई सम्झाउन पुगेका प्रहरीलाई ६ जना युवाको समूहले कुटपिट गरेका हुन् ।

ती युवाले प्रहरी सहायक निरीक्षक सरयुग महतोको सिठीसमेत चुँडाइदिएका छन् । सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बुले प्रहरी सहायक निरीक्षकसहित ३ जना प्रहरीमाथि दुर्व्यवहार भएको बताउनुभयो ।

प्रहरीलाई कुटपिट गर्ने पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका–६ ओखलढुंगाका विजय मगर, सोलुदूधकुण्ड नगरपालिका–८ बस्ने शेरबहादुर मगर, भीमबहादुर मगर, सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ११ बस्ने चन्द्रबहादुर मगर, मोहन कार्की र फुर्वा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

रमितेमा बैंक तथा वित्तीय संस्था खुलेसँगै आर्थिक गतिविधि बढेपछि अपराधिक घटना हुन सक्ने भन्दै गएको साउन १२ गते अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here