विर्तामोड। झापाको विर्तामोड नगरपालिकाले पछिल्लो पटक जारी गरेको लकडाउन आज राति १२ बजे पछि खुल्ला हुने भएको छ ।
नगरपालिकाका प्रमुख ध्रुव कुमार शिवाकोटीले आज विज्ञती जारी गर्दै बेलुकी १२ बजे पछि लकडाउन खुल्ला गर्ने निर्णय भएको जानकारी गराएका हुन् । यस अघि समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलन सक्ने खतरालाई मध्य नजर गर्दै नगरपालिकाले साउन १८ गते राति १२ बजेबाट लकडाउन जारी गरेको थियो ।
यो अबधीमा संक्रमणको जोखिममा रहेका, संक्रमित व्यक्तिको सम्पर्कमा आएका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, जनप्रतिनिधी, औषधि व्यवसायी र बैक तथा बित्तिय संस्थाका कर्मचारीहरुको समेत मास स्क्रिनिङ गरिएको नगर प्रमुख शिवाकोटीले बताएका छन् ।
विर्तामोड नगरपालिकाले हाल सम्म २२ सय ४३ जनाको पीसीआर परीक्षण गरेको बताएको छ । जसमा १५ सय ४ सय जनाको रिर्पोट आएकोमा १० जनामा कोरोना संक्रमण भएको देखिएको छ । संक्रमण देखिएका मध्ये ८ जना उपचारपछि निको भई घर फर्की सकेका छन् भने २ जना उपचाररत भएको बताइएको छ । पीसीआर परीक्षण गरिएका ७ सय ३९ जनाको भने रिर्पोट आउन बाँकी रहेको छ ।
लकडाउन खुल्ला गरेसंगै नगरपालिकाले नगर क्षेत्र आफैँमा भिडभाडयुक्त क्षेत्र भएकाले कोरोना भइरसको संक्रमणबाट बच्न सहनशील, धैर्य र संमयमता अपनाउन नगरवासीहरुलाई आग्रह गरेको छ ।





