साँढे १२ किलो गाँजा सहित ५ जना पक्राउ


११ श्रावण २०७७, आईतवार २०:३२ मा प्रकाशित

प्रनिश थापा
चितवन । पूर्वी चितवनको खैरहनीबाट प्रहरीले साँढे १२ किलो गाँजा सहित ५ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषीराम धर्ती मगरका अनुसार विशेष सुराकीको आधारमा खटिएको प्रहरीको विशेष टोलीले खैरहनीको विभिन्न स्थानबाट गाँजा सहित ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा राप्ती नगरपालिका वडा नम्बर १३ घर भई हाल खैरहनी नगरपालिका वडा नम्बर ८ स्थित मिलिजुली टोलमा डेरा गरी बस्ने २६ बर्षीया विनय प्रजा, नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका वडा नम्बर १३ खैरहनी नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष २२ का सन्दिप भ्वाजी, खैरहनी नगरपालिका वडा नम्बर ३ का २५ वर्षीया बिक्रम खनाल, खैरहनी नगरपालिका वडा नम्बर ६ का २३ वर्षीय राज विक र खैरहनी नगरपालिका वडा नम्बर २ का १८ वर्षीय पुर्ण घर्ती मगर रहेका छन् ।

उनीहरुमध्ये प्रजाको कोठाबाट अन्दाजी १२ केजी २०० ग्राम लागुऔषध गाँजा प्रहरीले बरामद गरेको प्रहरी निरीक्षक धर्ती मगरले जानकारी दिए । उनका अनुसार सोही स्थानमा गाँजा किन्न भनी गएका भ्वाजीलाई समेत पक्राउ गरिएको बताए ।

त्यस्तै, अन्य पक्राउ परेकाहरुलाइ भने खैरहनी नगरपालिका २ स्थित विन्दवासिनी चोक नजीकबाट लागुऔषध गाँजा कारोवार गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट भने प्रहरीले २ सय ६० ग्राम गाँजा बरामद गरेको छ ।

पक्राउ परेका सबैलाई चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गर्ने कार्य भइरहेको खैरहनीका प्रहरी प्रमुख प्रहरी निरीक्षक धर्तीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here