वीरगञ्ज । कलैया उपमहानगरपालिका–३ स्थित कलैया–नितनपुर सडकखण्ड हिलाम्य भएर आवतजावतमा समस्या भएपछि विरोध स्वरूप स्थानीयले सडकमै धान रोपाइँ गरेका छन् ।
भवानीपुरस्थित आयुर्वेद अस्पताल नजिकैको हिलाम्य सडकमा उनीहरूले धान रोपाइँ गरेर विरोध जनाएका हुन् । सडक हिलाम्य भएर आवागमनमा सास्ती हुँदा समेत जनप्रतिनिधि र ठेकदारले बाटो मर्मतमा ध्यान नदिएपछि सांकेतिक विरोध स्वरूप हिलाम्य बाटोमै धान रोपाइँ गरेको स्थानीयले बताएका छन् ।
नेपाली कांग्रेसका स्थानीय नेता समेत रहेका स्थानीय महेश गुप्ताका अनुसार सडक निर्माण गर्ने ठेकदार कम्पनी र जनप्रतिनिधिलाई समेत सडक मर्मतका लागि जानकारी गराउँदा समेत कुनै सुनुवाइ भएको छैन । सोही सडकखण्ड हुँदै बञ्जरीया, ब्रम्हपुरी, सुराही, मेठुरापुर मटिअरियालगायत १० गाउँका बासिन्दा सदरमुकाम कलैया ओहोरदोहोर गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
सडक निर्माणको जिम्मा पाएको ओमसाई ट्रेडर्सले उक्त सडकखण्डमा माटो हालेको छ। भवानीपुरमा एउटा सानो पुल बनाएपछि उसले सडकमा माटो भर्ने काम गरेको थियो । त्यसपछि वर्षायाम सुरु भएकोले सडक हिलाम्य बन्न पुगेको उनको भनाइ छ । कलैया–३ का वडाध्यक्ष जलाउद्दीन मन्सुर सहरी विकास कार्यालयको ठेक्कामा भए पनि आफूले समस्याबारे कम्पनीका प्रतिनिधिलाई जानकारी गराएको बताउँछन् ।
चार दिनजति घाम लागेपछि मात्रै काम गर्न सकिने जानकारी ठेकदार कम्पनीका प्रतिनिधिले दिएको वडाध्यक्ष मन्सुरले बताए ।





