नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि सरकारले अब बिरामीलाई मात्रै अस्पताल भर्ना गराउने भएको छ।
लक्षण नै नदेखिए कोरोना संक्रमितलाई अस्पताल नलगी क्वारेन्टाइनमै राख्ने तयारी सरकारले गरेको हो। केही दिनयता संक्रमितको दर २ सयभन्दा माथिले उकालो लाग्न थालेपछि सरकारले अब नयाँ विकल्प सोच्न थालेको हो।
देशभरका अस्पतालमा १६ सय संक्रमित मात्रै अट्ने पूर्वाधार तयार पारिएको छ। तर सोमबार कोरोना संक्रमितको संख्या २२६ ले बढेर १७९८ पुगिसकेको छ। यस्तो अवस्थामा व्यवस्थापनमा चुनौती देखेपछि सरकारले लक्षण नै नदेखिएका संक्रमितलाई क्वारेन्टाइनमै राख्ने निर्णय लिन लागेको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अब लक्षण नै नदेखिएका संक्रमितहरुलाई क्वारेन्टाइन या घरमै बस्न आग्रह गरिने जानकारी दिएका छन्।





