भद्रपुर, (झापा) । झापामा सोमबार थप दुई जना कोरोना सङ्क्रमित थपिएका छन् । बाह्रदशी गाउँपालिकामा दुई जना सङ्क्रमित थपिएका हुन् ।
गाउँपालिका वडा नम्बर ४ बस्ने ३२ वर्षीय र वडा ३ बस्ने ४६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणको रिपोर्टमा बाह्रदशीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए । योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ११३ पुगेको छ ।
बाह्रदशीमा थपिएका दुई जना सङ्क्रमित भारतको महाराष्ट्रबाट आएका हुन् । उनीहरूमध्ये ३२ वर्षीय पुरुष जेठ ७ गते र ४६ वर्षीय पुरुष जेठ १३ गते आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम साहले जानकारी दिए ।
उनका अनुसार वडा नम्बर ३ स्थित पशुपति माविको क्वारेन्टाइनमा बसेका १२ जनाको स्वाब सङ्कलन गरिएको थियो । त्यसमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ र बाँकीको नेगेटिभ आएको हो । सङ्क्रमित दुवै जनालाई उपचारका लागि विराटनगर वा धरान पठाइने जनाइएको छ ।
यसअघि पनि बाह्रदशीमा दुई जनामा कोरोना पुष्टि भइसकेको छ । जिल्लाको कचनकवलमा १ सय जना, गौरीगञ्जमा चार जना, गौरदाहमा दुई जना, दमक नगरपालिका, भद्रपुर नगरपालिका र झापा गाउँपालिकामा एक/एक जना सङ्क्रमित भेटिएका थिए ।





