ट्रम्पले खाइरहेको मलेरियाको औषधिले मृत्यु निम्त्याउन सक्ने


१० जेष्ठ २०७७, शनिबार १४:५१ मा प्रकाशित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाको जोखिम कम गर्न खाइरहेको मलेरियाको औषधिले मृत्युको जोखिम बढाउने एक अनुसन्धानले देखाएको छ ।

विज्ञान अनुसन्धान पत्रिका लान्सेटले गरेको अध्ययन अनुसार हाइड्रोक्सी क्लोरोक्विन औषधि कोरोना संक्रमितले खाँदा उल्टै मृत्युको जोखिम बढाउने तथ्य पत्ता लागेको हो । चिकित्सकले उक्त औषधि नखान चेतावनी दिएपनि कोरोनाको जोखिम नियन्त्रणमा हाइड्रोक्सी क्लोरोक्विन उपयोगी हुने दाबी गर्दै ट्रम्पले औषधि खाइरहेको खुलासा गरेका थिए ।

स्वास्थ्य विज्ञको सुझाव विपरित उहांले यो औषधिको प्रयोगमा जोड दिंदै आएका छन् । उनीहरुका अनुसार हाइड्रोक्सी क्लोरोक्विन मलेरियाका बिरामीका लागि उपयोगी छ भने लुपुसका केही समस्यामा पनि लाभदायक रहेको छ ।

तर कोरोना संक्रमितका लागि यो औषधिले फाइदा पुर्‍याउने कुनै अनुसन्धानले देखाएको छैन । लान्सेट जर्नलमा प्रकाशित प्रतिवेदनमा कोरोना संक्रमितलाई मलेरियाको औषधिबाट फाइदा नभएको बरु यसले उल्टो मृत्युको जोखिम बढाउने पाइएको उल्लेख छ । तर हाइड्रोक्सिक्लोरोक्विन खुवाइएका कोरोनाका बिरामीमा मुटुका समस्या बढेर झन् मृत्युको जोखिम बढेको पाइएको छ ।

प्रतिवेदनअनुसार हाइड्रोक्सी क्लोरोक्विन दिइएका कोरोनाका बिरामीको मृत्युदर १८ प्रतिशत, क्लोरोक्विन दिइएका बिरामीको मृत्युदर १६ दशमलब ४ प्रतिशत र अरु समूहका बिरामीको मृत्युदर ९ प्रतिशत पाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here