काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनको म्याद फेरि पनि थप्ने तयारी गरेको छ ।
पछिल्लो पटक वैशाख २५ गतेसम्म बढाइएको लकडाउनको म्याद फेरि पनि करिब २ हप्ताका लागि थप्न लागिएको हो । गृह मन्त्रालयका एक अधिकारीले आगामी जेठ १० गतेसम्म लकडाउन बढाउनका लागि सिफारिस गर्ने तयारी भइरहेको जानकारी दिए ।
पछिल्लो समय बाँकेमा कोरोना संक्रमण बढेपछि लकडाउनलाई थप कडाइका साथ कार्यान्वयन गर्ने गरी म्याद थप गर्ने तयारी भइरहेको गृह मन्त्रालयका ती अधिकारीको भनाइ छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका एक अधिकारीका अनुसार आइतबार बसेको मन्त्रिपरिषद बैठकमा समेत लकडाउनका विषयमा छलफल भएको थियो ।
छलफलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलाई थप कडाइका साथ कार्यान्वयन गराउन गृहमन्त्री रामबहादुर थापा (बादल)लाई निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशन पछि गृहमन्त्री थापाले पनि कोरोना संक्रमण बढ्न नदिन लकडाउन नै प्रभावकारी विकल्प भएको र त्यसलाई कडाइका साथ पालना गरिने जनाएका थिए ।
‘आइतबारको क्याबिनेट बैठकमा लकडाउन बढाउने विषयमा सामान्य छलफल भएको थियो । अहिलेसम्मको समीक्षा र अबको कदमबारे योजना बनाउने विषयमा पनि छलफल भएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका ती अधिकारी भन्छन्, ‘प्रधानमन्त्रीज्यूले पनि अहिलेको अवस्थालाई मध्यनजर गर्दा लकडाउन बढाउनुपर्नेमा जोड दिए । जेठ १० गतेसम्म लकडाउन बढाउने विषयमा छलफल भएको थियो ।’
ती अधिकारीका अनुसार कोरोना प्रभावित क्षेत्रहरुको वर्गीकरण गर्ने विषयमा पनि मन्त्रिपरिषद बैठकमा छलफल भएको थियो ।
संक्रमित देखिएको क्षेत्रलाई ‘ब्याक’, संक्रमण फैलिन सक्ने जोखिम रहेको क्षेत्रलाई रेड, संक्रमण फैलिन सक्ने, तर जोखिम व्यवस्थापन गर्न सकिने क्षेत्रलाई एल्लो र ग्रीन जोनमा विभाजन गरेर सोहीअनुसार लकडाउनलाई खुकुलो र थप कडाइ गर्ने विषयमा छलफल भएको मन्त्रिपरिषद कार्यालयका अधिकारीको भनाइ छ ।
गृह, स्वास्थ्य तथा जनसंख्या र रक्षा मन्त्रालयले कोरोना संक्रमणको जोखिम मूल्याङ्कन गरी क्षेत्र निर्धारणका लागि संयुक्त रुपमा अध्ययन गर्ने समझदारी बनेको पनि ती अधिकारी बताउँछन् ।
नेपालमा कोरोना भाइरसको दोस्रो संक्रमित देखिएपछि सरकारले ११ चैतदेखि लकडाउनको आदेश जारी गरेको थियो ।
पहिलोपटक चैत १८ गतेसम्मका लागि लकडाउनको आदेश जारी गरिएकोमा दोस्रो पटक चैत २५, तेस्रो पटक वैशाख ३, चोथो पटक वैशाख १५ र पाँचौं पटक वैशाख २५ गतेसम्मका लागि थपिएको थियो ।
यसबीचमा नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेर ७५ पुगेको छ । कोरोना संक्रमण देखिएका १६ जना उपचार पछि निको भएर घर फर्किएकामा २ जनामा पुनः स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।





