मस्जिदमा भेटिएका १२ जना संक्रमित विराटनगरको कोरोना विषेश अस्पतालमा भर्ना


६ बैशाख २०७७, शनिबार ०९:४२ मा प्रकाशित

विराटनगर । उदयपुरको एउटै मस्जिदमा भेटिएका १२ जना कोरोना संक्रमितलाई विराटनगरको कोरोना विषेश अस्पतालमा राखिएको छ ।

शुक्रबार संक्रमण देखिएका एक नेपाली र ११ जना भारतीय नागरिकलाई प्रदेश १ सरकारले निर्माण गरेको कोरोना विषेश अस्पतालमा राखिएको हो । संक्रमित नेपाली मोरङको रहेको बताइएको छ ।

संक्रमितसँगै आएका ४ जनालाई भने मोरङको टाडीस्थित क्वारेन्टाइनमा राखिएको छ । उदयपुरको मस्जिदमा बस्दै आएका १६ जनामध्ये १२ जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । तर उदयपुरको स्थानीय प्रशासनले १६ जनालाई नै विराटनगर पठाएको थियो ।

कोशी अस्पताल विराटनगरले हेर्ने गरी निर्माण गरिएको कोरोना विषेश अस्पतालले कोरोना संक्रमण नदेखिएका चार जनालाई भर्ना गर्न नमानेपछि उनीहरुलाई मोरङको टाँडीमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए ।

मध्य रातमा शंकास्पद व्यक्तिलाई भर्ना गर्ने विषयमा आधा घण्टा विवाद भएपछि मात्र प्रशासनले चारजनालाई टाँडी लगिएको हो । ‘कोरोना नदेखिएकालाई हामीले कुनै हालतमा भर्ना गर्न मानेनौं’ कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डा. संगीता मिश्राले भनिन् ‘संक्रमण नदेखिएकालाई अस्पतालमा भर्ना गरेर भोलि बिरामी भेटिए के गर्ने ?’

उनका अनुसार अस्पतालमा भर्ना भएकाहरुलाई कुनै लक्षण भने देखिएको छैन । संक्रमितहरु सबै पुरुष हुन् र उनीहरु ४ जना २८ वर्षका, दुई जना २९ वर्षका छन् । त्यस्तै अरु ३४, २६, २२, २५, २० र ४० वर्षका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here