डडेल्धुरा । सुदूरपश्चिममा थप एकजना कोरोना संक्रमित भेटिएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका १ मा ६० वर्षीया महिलामा कोरोना ‘पोजेटिभ’ देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । जसमामा १२ जना आइसोलेसनमै उपचाररत छन् भने एक जना निको भइसकेका छन् ।
लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्यापिड टेष्टमा नेगेटिभ देखिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परिक्षण गर्दा पोजेटिभ देखिएको लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाले बताए । उनी परिवार सहित विरगञ्जबाट फर्किएको बुझिएको बताउँदै प्रमुख डाक्टर तिमिल्सिनाले एम्बुलेन्समार्फत सेती प्रादेशिक अस्पताल पठाइएको बताए ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । यसअघि दुबईबाट आएका धनगढीका युवक, उनकी भाउजु, भारतबाट फर्किएका लम्कीकै पुरुष र भारतबाटै फर्किएका कञ्चनपुरका अर्को पुरुषमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । उनीहरु सबै सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् ।
आइतबार मात्रै वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा रहेका तीन भारतीयमा कोरोना पुष्टि भएको थियो । नेपालमा कोरोना भेटिएकामध्ये सेती अस्पतालमा ५ जना, बागलुङमा २ जना, वीरगञ्जमा तीनजना र काठमाडौंमा दुईजना उपचाररत रहेका छन् ।





