राष्ट्रिय योग दिवस साताव्यापी रूपमा मनाइने


१ माघ २०७६, बुधबार १०:४३ मा प्रकाशित

काठमाडौं । ‘राष्ट्रिय एकता, योगको सान्दर्भिकता’ मूल नाराको साथ सरकारले पाँचौँ राष्ट्रिय योग दिवस साताव्यापी रूपमा मनाउने भएको छ ।

माघ १ देखि एक सातासम्म ‘राष्ट्रिय योग दिवस २०७६’ मनाउन लागिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जानकारी दिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहित ७७ वटै जिल्ला तथा आयुर्वेद सम्बद्ध सबै संस्थाहरूमा विभिन्न कार्यक्रम गरी योग दिवस मनाइदै छ ।

स्वस्थ तथा तन्दुरुस्त रहनका लागि योग अत्यन्त उपयोगी मानिन्छ । पछिल्लो समय अस्वस्थकर जीवनशैलीका कारण मानव स्वास्थ्यमा नकारात्मक प्रभाव चुलिँदो छ । पूर्वीय दर्शनद्वारा व्यवस्थित तथा ऋषि–महर्षिहरूद्वारा सिद्ध योगको बहुआयामिक महत्वबोध गर्दै पछिल्लो समय विश्वभरि नै योग दिवस मनाउने गरिएको छ ।

अव्यवस्थित खानपान, बिलासी जीवनशैलीका कारण धेरै जसो मानिसहरु नसर्ने रोगको शिकार भएका छन् । नसर्ने किसिमका रोगमा पनि मानसिक समस्या, मोटोपनसम्बन्धी समस्याले आधा हिस्सा ओगट् गरेको छ । यस्ता समस्यादेखि रोकथाम गर्ने मानिसकले शारीरिक व्यायाम अपरिहार्य रहेको योगा प्रशिक्षकहरु बताउँछन् । योगाका माध्यमबाट नसर्ने रोगबाट बच्न सकिन्छ । दैनिक पसिना आउने गरी शारीरिक अभ्यास गरेमा नसर्ने रोगबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायका अनुसार ‘योगाभ्यासले शरीरका सम्पूर्ण मांसपेशीमा निकै फाइदा पुर्‍याउँछ, योग शरीर, मन र आत्मालाई एक गर्ने आध्यात्मिक प्रक्रिया भएकाले मानवका लागि योग अति नै महत्त्वपूर्ण हुन्छ । उनले भने, ‘शरीरमा भएको विकार फाल्नका लागि योगको आवश्यकता पर्छ ।’

विश्व स्वास्थ्य संगठनको पूर्ण रूपमा स्वस्थ हुन शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा समेत स्वस्थ हुनुपर्ने व्याख्याले योगको महत्व अझ बढाउँछ । ‘योग, प्राणयाम, आयुर्वेद र जडीबुटीको विकास गरी हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रलाई स्वस्थ, समुन्नत र समृद्ध बनाउने अभियानका साथ राष्ट्रिय योग दिवस मनाउन लागिएको छ,’ डा. उपाध्यायले भने ।

कहिलेदेखि मनाउन थालियो योग दिवस

वि.सं. २०३६ देखि नै सूर्यको उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गर्ने संस्थाहरूको सहभागितामा योग दिवस मनाउन थालिएको थियो । मन्त्रिपरिषद्ले ०७२ साउनमा प्रतिवर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको थियो ।

योग सप्ताहका लागि ३ लाख बजेट

१ देखि ७ माघसम्म मनाइने योग सप्ताहका लागि विभागले ३ लाख बजेट विनियोजन गरेको छ । योग सप्ताहमा योग बारे जनचेतना देखि विभागका कर्मचारीलाई योगाभ्यासमा समावेश गराउने कार्यक्रम रहेको विभागले जनाकारि दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here