विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारले प्रदान गर्ने कृषि अनुदानलाई प्रभावकारी ढंगबाट वितरण गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
कृषि विकास निर्देशनालय पशुपन्छि तथा मत्स्य विकास निर्देशनालय १ नम्बर प्रदेशले विराटनगरमा आज आयोजना गरेको चालु आर्थिक वर्षको प्रथम चौमासिक समिक्षा गोष्ठीको समापन शत्रमा बोल्दै मुख्यमन्त्री राईले तल्लो तहसम्मका किसानको खेतसम्म पुग्न कर्मचारीहरुलाई निर्देशन दिएका हुन् । उनले कृषि अनुदान कार्यविधि संसोधन भएर आइसकेकाले सोही अनुसार प्रभावकारी ढंगबाट अनुदानका कार्यक्रम संचालन गर्न अनुरोध गरे ।
पहिलो चौमासिकको प्रगतिको अवस्था सन्तोषजनक नै रहेको बताउँदै मुख्यमन्त्री राईले दोस्रो चौमासिकमा तिव्र गतिमा काम गर्न आग्रह गरे । जेठ १५ गते भित्रमा बजेट खर्च गरिसक्ने गरि कर्मचारीलाई काम गर्न उनले निर्देशन दिए । साथै मुख्यमन्त्री राईले पुरानो ढर्राबाट बाहिर निस्कीएर काम गर्ने शैली, कार्यसम्पादनलाई फरक बनाएर जनताले अनुभूति हुने सेवा प्रभाह गर्न समेत कर्मचारीहरुलाई आग्रह गरे । कृषकका समस्या तत्काल सावधन गर्न कृषिलाई पनि आइटीसँग जोडिनुपर्ने र यसका लागि आवश्यक तयारी गर्न उनले निर्देशन दिए ।





