पर्सा । बुधबार बेलुकी नेपाल पसेको पश्चिमी वायुले मौसम बदली गराएपछि मध्यतराईमा शीतलहर शुरु भएको छ ।
समयअगावै एक्कासि चिसो बढेर शीतलहर लागेपछि जनजीवन प्रभावित भएको छ । अघिल्लो वर्ष पुस पाँच गतेदेखि सुरु भए पनि यसपटक मंसिर अन्तिम हप्तादेखि नै शीतलहर शुरु भएको हो । मध्यतराईका बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी लगायतका जिल्लाहरुमा बिहीबारदेखि नै घाम लागेको छैन । शीतलहरका कारण ओस खसिरहेको छ भने केही स्थानमा पानीसमेत परेको छ । यस क्षेत्रको प्रमुख नगर वीरगञ्जका पसलहरु ढिला गरी खुलेका छन् । बिहानको समयमा घरबाहिर मानिसहरुको गतिविधी खासै देखिएको छैन ।
प्रभातीय अभ्यासका क्रममा खचाखच मानिस भरिने नारायणी रंगशला र स्थानीय चौरहरु खाली हुन थालेका छन् । पर्साको पकाहामैनपुर गाउँपालिकाका प्रशासकीय अधिकृत सुनिल चौरसियाले बिहानैदेखि कुहिरो र शीतसँगै चल्ने चिसो हावाका कारण पशु–चौपाया र विपन्न मानिस प्रभावित हुन थालेको जानकारी दिए । गाउँपालिकाले चिसोबाट बच्न र खानपानमा ध्यान दिन स्थानीयलाई सचेत गराईरहेको छ । चिकित्सकहरुले चिसोबाट बच्नका लागि न्यायो कपडा लगाउन, आगो ताप्न, झोलिलो तातो खाना खान र समस्या बढ्दै गए स्वास्थ्यसंस्था जान सुझाव दिएका छन् ।