उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका आसपास क्षेत्रमा सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका जंगली हात्तीहरुले आतंक मच्चाएका छन् ।
जिल्लाको त्रियुगा नगरपालिका वडा नं.२,३ अन्तर्गत जोगिदह, मोथियाही, खैजनपुर र सोनुवाको भुल्केमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएका जंगली हात्तीले वितण्डा मच्काउँदा किसानको पाक्न लागेको धानबाली नष्ट गरेका हो । जंगली हात्तीको आतंकबाट किसानको धानबाली नष्ट गर्नुको साथै चार घरमा क्षति पुर्याएको छ । चारवटा वयस्क र दुईवटा बच्चा गरी ६ वटा हात्तीको समूह निस्किएको स्थानीय मनोज सुतारले बताए । त्रियुगा नगरपालिका बैरागी टोलमा श्री परियारको घरको टाटी भत्कानुका साथै अन्दाजी १० मुरी धान नष्ट गरेको र तरकारीसमेत नष्ट भएको छ ।
मोथियाहीमा गुणराज कार्कीको घरको टाटी भत्काएको, मकैको थाङ्नो, वरिपरि लगाएका उखु, केरा, तरकारी नष्ट गरेको पाइएको छ, भने कार्कीकै कान्छाभाईको घरमा समेत क्षति पुर्याएको छ । यस्तै खैजनपुरमा भुपू वडाध्यक्ष लिल बहादुर खड्काको २० मुरी धान खाएर नष्ट गरिदिएको त्रियुगा नगरपालिका २ का वडाध्यक्ष घमानसिंह खत्री (ध्रुव)ले जानकारी दिए । त्रियुगा नगरपालिका २ र ३ मा सोमबार रातिदेखि लगातार अहिले सम्म स्थानीयहरु जाग्रम बसेर हात्ती लखेट्दै रात काटेको वडाध्यक्ष खत्रीले बताए । स्थानीय दिनेश थापाका अनुसार विगतका वर्षझैँ यस वर्ष पनि हात्तीको आतंक कायमै रहेको बताए ।
सोमबार राति डिभिजन वन कार्यालय उदयपुरको टोलीले सोनुवा, मोथियाही लगायतका स्थानमा हात्तीलाई धपाउने काम भएको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारी जागेश्वर साहले जानकारी दिए । साहका अनुसार मानवीय क्षति नभए पनि दर्जन बढीको धानबाली नष्ट गरेको गुनासो आएको बताए । जंगली हात्तीको आतंकबाट प्रभावित क्षेत्रमा संयुक्त स्थलगत निरीक्षण भएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुर जिल्ला प्रहरी कार्यालय उदयपुर र डिभिजन वन कार्यालय उदयपुरले सजग रहन विभिन्न उपायहरूबारे छलफल चलाएको छ । सम्बन्धित सरोकारवाला निकायले समयमै ध्यान नदिँदा वर्षैपिच्छे ठूलो मात्रामा धनमालको क्षति भएको स्थानीय बासिन्दाहरुको गुनासो छ ।





