मेडिकल विद्यार्थीद्वारा आजदेखी सुुुरु भएको परीक्षा बहिस्कार


१९ मंसिर २०७६, बिहीबार १६:५० मा प्रकाशित

चितवन । सरकारले तोकेको भन्दा बढी अतिरिक्त शुल्क फिर्ता हुनुपर्ने माग राख्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले आजदेखी सुुुरु भएको परीक्षा बहिस्कार गरेका छन् ।

चिकित्सा शिक्षा सङ्घर्ष समितिको अगुवाइमा भइरहेको आन्दोलनमा चितवन मेडिकल कलेजसहित वीरगञ्जको नेशनल मेडिकल कलेज, भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस र जनकपुर स्थित जानकी मेडिकल कलेजका विद्यार्थीहरुले बिहिबार बाट सुरू भएको बोर्ड परीक्षा बहिस्कार गरेका हुन् । शुल्क फिर्ता हुनुपर्ने माग राख्दै चार महिना देखि आन्दोलनरत एमबीबीएस, बिडिएस, बीएससी नर्सिङ, बीएनएस, बी फार्मेसी, बीपीएच, बीएफएलटी र बीएम आइटीका देशैभरका विद्यार्थीले बोर्ड परीक्षा बहिस्कार गरेको चिकित्सा शिक्षा संर्घष समितिकी सदस्य मान्यता थापाले जानकारी दिइन् ।

यो सँगै आजबाट हुने भनिएको एमबीबीएस बाहेक अन्य सातवटा संकायको पहिलो वर्षको परीक्षामा विद्यार्थी सहभागी भएनन् । फिर्ता गर्नुपर्ने माग गर्दै देशैभरका मेडिकल शिक्षा अध्ययनरत विद्यार्थी विगत लामो समयदेखि आन्दोलनरत छन् । सरकार र मेडिकल कलेजहरुबीच भएको सहमति विद्यार्थीको पक्षमा नभई मेडिकल माफियाहरुको पक्षमा भएको भन्दै उनीहरुले आन्दोलनलाई अझै चर्काउने निर्णय समेत गरेको थापाले बताइन् ।

सरकार र मेडिकल कलेज संचालकहरुबीच केही समयअघि भएको वार्तामा बढी लिइएको रकम आगामी वर्षको शिक्षण शुल्कमा समायोजन गर्ने भनिएपनि विद्यार्थीहरुले असहमति रहेको जनाउँदै आएका छन् । मेडिकल कलेजहरुले ०७२ देखि नै विद्यार्थीहरुबाट अतिरिक्त शुल्क उठाउदै आएकोले चार वर्षको नै शुल्क फिर्ता वा समायोजन हुनु पर्ने उनीहरुको माग छ ।

विद्यार्थीहरुले आफ्नो माग पूरा गर्न मेडिकल कलेजहरुलाई मंगलबारसम्मको समय सीमा दिएको थियो । तर, बुधबारसम्म पनि मेडिकल कलेज संचालकहरुले माग पुरा नगरेपछी उनीहरुले आज परीक्षा बहिस्कार गर्दै पुनःआन्दोलनमा होमिएका हुन् । परीक्षा बहिष्कारका कारण ६०० विद्यार्थी प्रभावित भएका छन् । उनीहरूले सरकारले निजी मेडिकल कलेज सञ्चालकलाई नै फाइदा पुग्नेगरी सहमति गरेको र आन्दोलन तितरवितर पार्ने षड्यन्त्र गरेकाले परीक्षा नै बहिष्कार गर्नुपरेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here