ग्यासको सट्टा विद्युतको प्रयोग बढाउने कुलमानको योजना


३० कार्तिक २०७६, शनिबार १४:१८ मा प्रकाशित

काठमाडौं । विद्युतको उत्पादन बढ्दै गएको समयमा विद्युत खपत कम भएपछि नेपाल विद्युत प्राधिकरणले नयाँ योजना अघिसारेको छ ।

प्राधिकरणले ग्यासलाई बिजुलीले रिप्लेस गर्ने योजना अघि बढाएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । प्राधिकरणले उपभोक्ताले चाहिए जति विद्युत् प्रयोग गर्न पाउनेगरी हरेक वितरण ट्रान्सफर्ममा विद्युतको लोड ५० प्रतिशतभन्दा माथि नरहने गरी नयाँ ट्रान्सफर्मर थप्ने र स्तरोन्नति गर्ने योजना अगाडि सारेको हो । वितरण लाइन प्रणालीको संरचनागत सुधार पनि समानान्तर रूपमा अगाडि बढाएको जनाएको छ । सम्पूर्ण ट्रान्सफर्मरहरूमा विद्युतको लोड ५० प्रतिशतभन्दा माथि नरहने गरी ट्रान्सफर्मर थप्न र स्तरोन्नति गरिएको घिसिङले निर्देशन दिइसकेको जनाएका छन् ।

‘विद्युत खपत बढाउन घरघरमा विद्युतीय चुलो (इन्डक्सन) को प्रयोगलाई प्रोत्साहन गर्ने र विद्युतीय गाडी चलाउन चार्जिङ स्टसेनहरू खोल्नेगरी अगाडि बढिरहेका छौं, इन्डक्सन चुलो र चार्जिङ स्टेसनको लोडलाई धान्ने गरी संरचना बनाउनुपर्छ, त्यसका लागि आफ्नो क्षेत्रमा रहेका ट्रान्सफर्मरको लोड ५० प्रतिशतभन्दा तल रहने गरी ट्रान्सफर्मरको सुदृढीकरण गरिनेछ’, घिसिङले भने । प्राधिकरणले उपभोक्ताकोमा विद्युत् पुर्‍याउन ५०, १ सय, २ सय, ३ सय र ५ सय केभीएका वितरण ट्रान्सफर्मर प्रयोग गर्दै आएको र तीन वर्षमा नयां निर्माण तथा स्तरोन्नति गरी ७ सय ६५ एमभीए क्षमताका वितरण सव्स्टेसनहरू प्रणालीमा थप गरेको जनाएको छ ।

सरकारले विद्युतको पहुँच र खपत बढाउन तीन वर्षभित्रमा मुलकभर शतप्रतिशत विद्युतीकरण गर्ने घोषणा गरेको छ । प्राधिकरणले यसलाई कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा ४० जिल्लालाई पूर्ण विद्युतीकरण भएको जिल्लाको रूपमा घोषणा गर्ने गरी काम गरिरहेको छ । उत्पादित विद्युत खेर जान नदिन खपत बढाउनु नै अहिलेको मुख्य चुनौती र समस्या रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले यसको समाधानका लागि माग बढाउन बढीभन्दा बढी मिटर वितरण गर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन र उद्योगलाई विद्यत् आपूर्ति दिन सहजीकरण गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here