अस्ट्रेलियाका लागि नेपाली राजदूत दाहालले बुझाए ओहोदाको प्रमाणपत्र


२७ कार्तिक २०७६, बुधबार १६:१८ मा प्रकाशित

काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले बुधबार गर्भनर डेविड हर्ली समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

क्यानबेरास्थित गभर्नर हाउसमा आयोजित विशेष कार्यक्रममा गभर्नर जनरल डेबिड हर्लीसमक्ष दाहालले प्रमाणपत्र बुझाएका हुन् । ओहोदाको प्रमाणपत्र बुझाएपछि आधिकारिक रूपमा दाहालले अस्ट्रेलियाको राजदूतको पद सम्हालेका छन् । औपचारिक रूपमा कार्यभार सम्हाल्नुअघि स्थानीय सरकारका प्रमुखसँंग ओहोदाको प्रमाणपत्र बुझाउनुपर्ने अन्तर्राष्ट्रिय चलन छ । राजदूत दाहालले ओहोदाको प्रमाणपत्र बुझाएपछि सन् १९६० देखि नेपाल र अस्ट्रेलियाबीच सुमधुर कूटनीतिक सम्बन्धलाई बढावा दिने प्रयास गर्ने बताए ।

राजदूत दाहालले नेपाल र अस्ट्रेलियाले कूटनीतिक सम्बन्धलाई अझ बलियो बनाउँदै जानुपर्नेमा आफूले जोड दिएको बताए । गभर्नर जनरल डेबिड हर्लीले राजदूत दाहाललाई सफल कार्यकालको शुभकामना दिएका थिए । राजदूत दाहालले ओहोदाका प्रमाणपत्र बुझाएपछि करिब बीस मिनेट आफूले गर्भनर डेबिडसँंग दुई देशबीचको सम्बन्धका बारेमा छलफल भएको बताए । आउँंदो शुक्रबार राजदूत दाहालले पहिलो पटक अस्ट्रेलियाका केही वकिल र इन्जिनियरहरूलाई बोलाएर दूतावासको भवन निर्माणबारे छलफल बैठक बोलाएका छन् । पर्यटन मन्त्रालयले भवन निर्माणको लागि प्रारम्भिक बजेट विनियोजन गरेको सम्बन्धमा अस्ट्रेलियाको मौजुदा कानुन अनुरूप राजदूतावासको भवनको प्रारम्भिक रुपरेखाका लागि नेपाली मूलका विशेषज्ञहरूलाई बोलाएर छलफल गर्न लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here