रौतहट । १२ वर्षअघि रौतहटको इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको अभियोगमा पक्राउ परेका नेपाली काङ्ग्रेसका निलम्वित सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्धामा आज पनि थुनछेक बहस हुने भएको छ ।
जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा बहस हुनेभएको हो । २०६४ साल चैत्र २७ गते आलमका काका शेष इद्रिसको गोठमा बम विष्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटाभट्टामा जलाएको आरोपमा गत असोज २६ गते नेता आलम पक्राउ परेका हुन् । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले २०७५ चैत ८ गते पछिल्लो पटक जिल्ला प्रहरी कार्यालयलाई मुद्दाको अनुसन्धान गर्न पत्राचार गरेपछि घटनाका मुख्य आरोपी भनिएका नेता आलम पक्राउ परेका हुन् ।
रौतहटको यमुनामाई गाउँपालिका ४ का त्रिलोक प्रताप सिंह मारिएको भन्दै बाबु श्रीनारायण सिंह र ओसी अख्तर मारिएको भन्दै आमा रोक्साना खातुनले कतव्र्यज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए । सर्लाहीस्थित गडैता २ का सफि अहमद र भारत सितामणी जिल्ला बैरगनिया–२ का ४२ वर्षीय गौरीशंकर रामले बम विस्फोटनमा घाइते भएको उजुरी दिएका थिए ।





