काठमाडौं । विश्वको सर्वाधिक पुरानो क्रिकेट क्लबका रुपमा रहेको मेरिलोबन क्रिकेट क्लबसँगको टी–२० क्रिकेटमा राष्ट्रिय क्रिकेट टीम पराजित भएको छ ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा शनिबार भएको खेलमा एमसिसीले नेपाललाई ११३ रनले पराजित गर्दै सानदार जित निकालेको हो । एमसिसीले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपाल १३.१ ओभरमा अलआउट हुँदै ७६ रनमा समेटियो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक १६ रन जोड्नु बोहक अन्यको प्रदर्शन भने गतिलो रहेन । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले २० ओभरमा ७ विकेट गुमाएर १८९ रन बनाएको थियो ।
नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुरका लागि नेपाल आएका एमसिसीले यसअघि नेपालसँग एक एकदिवसीय र तीन दिवसीय फस्ट क्लास क्रिकेट खेलिसकेका छन् । तीन दिवसीयमा नेपाल २०८ रनले पराजित भएको थियो । एकदिवसीयमा भने नेपालले एमसिसीलाई ५ विकेटले हराएको थियो ।





