झापा । झापा प्रहरी गाईगोरु तस्करी नियन्त्रण तथा रोकथाम अभियानप्रति आक्रमक देखिएका छन् ।
दुईदिन अघि दुई वटा फुलबडी ट्रकसहित ५० वटा गोरु नियन्त्रणमा लिएर भन्सार बुझाएको घटना सेलाउन नपाउँदै प्रहरीले बुधवार राती दुई वटा बोलेरो पिकअप भ्यानसहित गाई–बाछी नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएका प्रहरी टोलीले झापा गाउँपालिका ४ र २ पर्ने सीमा नाकाबाट बुधवार राती १२ वटा गाई बाछी लोड गरिएको बोलेरो पिकअप भ्यान नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीले मे १ ज १७६१ र प्र. १–०१–००१ ज–३३८५ नम्बरको पिकअप भ्यानमा लोड गरिएको गाईबाछी झापा गाउँपालिकाका हुँदै भारतको डिलगबैक नाकातर्फ लैजानेक्रममा नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । प्रहरीले गाईबाछीसहित नियन्त्रणमा लिएको पिकअप भ्यान र चालकद्धय मोरङ मिस्लाजुङ्ग गाउँपालिका ४ बस्ने ३६ बर्षीय पदम खत्री र झापा कमल गाउँपालिका ४ बस्ने २८ बर्षीय मिलन लिम्बुलाई भद्रपुर भन्सार कार्यालय बुझाएको छ । प्रहरीले गाईबाछी र दुई वटा भ्यानलाई १० लाख १२ हजारमा भन्सार बुझाएको प्रहरीले जनाएको छ ।





