भारतले सीमा मिच्दा सरकार मौन बसेको भन्दै नेविसंघद्वारा आन्दोलन


२० कार्तिक २०७६, बुधबार १७:१० मा प्रकाशित

काठमाडौँ । नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी सङ्घले विरोध प्रदर्शन गरेको छ ।

नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतले आफ्नो देशको नक्सामा राखेपछि नेविसंघ आन्दोलनमा उत्रिएको हो । भारतले जारी गरेको नक्साको विरोध गर्दै नेविसंघ आर आर इकाईले आज (बुधबार) आर आर क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ । विरोध कार्यक्रमलाई नेविसंघका निवर्तमान उपाध्यक्ष सागर परियार, नेविसंघ आर आरका इकाई अध्यक्ष सञ्जीव ढकाल, सचिव अनुराग शाह लगाएका विद्यार्थी नेताहरूले सम्बोधन गरेका थिए ।

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै सबै विद्यार्थी नेताहरूले नेपाल सरकारप्रति आक्रोशित बनेका थिए । नेपाको भूमी भारतले मिच्दा पनि सरकार मौन रहेको भन्दै आक्रोशित बनेका थिए । भारत सरकारको यो रबैयाकाविरुद्ध नेपाल सरकार मौन भए झन् आन्दोलन चर्काउने सचिव अनुराग शाहले जानकारी दिए । आन्दोलनलाई खेलाँची सोचे सरकारले त्यसको परिणाम नराम्रो भोग्नुपर्ने चेतवानी समेत सचिव शाहले दिए ।

नेपाल तरुण दलले आज एक विज्ञप्ति जारी गरी नेपालको माटो भारतले आफ्नो नक्सामा मिसाएको भन्ने विषय सार्वजनिक हुँदासमेत सरकार किन मौन भनी प्रश्न गरेको छ । अध्यक्ष जितजङ्ग बस्नेतले विज्ञप्ति जारी गर्दै नेपाली जनताको चाहनाबमोजिम उक्त भूभागबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गर्दै नेपालको एक मुठी माटो पनि कसैले लगेमा तरुण दललाई मान्य नहुने उल्लेख गरेका छन् ।

“कालापानी र लिपुलेक हाम्रा अभिन्न अङ्ग हुन् । भारतले सार्वजनिक गरेको नयाँ नक्सा सच्याउनका लागि सरकारले कूटनीतिक पहल तत्काल शुरु गरोस्”, विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here