पर्सा । वीरगञ्जको सिर्सिया खाल्वाटोलाबाट प्रहरीले गोली हानेर एक जना अपरहणकारी पक्राउ गरेको छ ।
साथै अपहरणमा परेका काभ्रेका एक बालकको पनि सकुशल उद्धार भएको छ । प्रहरीले मंगलबार राति पर्साको पोखरीया नगरपालिका–८ बस्ने राजकुमार दासलाई गोली हानी नियन्त्रणमा लिएको हो । गोली दासको दाहिने खुट्टामा लागेको छ । दास पक्राउबारे जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार १० बजे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने प्रहरी प्रमुख सोमेन्द्रसिंह राठोरले बताए ।
काभ्रेबाट एक बालक अपहरण गरी अभिभावकसँग फिरौती लिँदै गर्दा पुगेको प्रहरी टोलीलाई पेस्तोल ताकेपछि प्रहरीले दासमाथि गोली चलाएको एसपी राठौरले बताए । गोली लागेर घाइते भएका अपहरणकारीको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।





