काठमाडौं । हिमालय एयरलाइन्सको काठमाडौं–बेइजिङ नियमित उडान आजदेखि सुरु भएको छ ।
चिनियाँ लगानीसमेत रहेको एयरलाइन्सले पहिलोपटक चीनको राजधानीसँग हवाई सम्पर्क स्थापित गरेको हो । हप्तामा ३ दिन उडान गर्ने योजना बनाएको हिमालय एयरलाइन्सको पहिलो उडान आज काठमाडौंबाट उडेको छ । यो उडानले नेपाल–चीनको सम्पर्कलाई बढाउन मद्दत गर्ने एयरलाइन्सको विश्वास छ । हिमालयको यो उडान काठमाडौं विमानस्थलबाट बेइजिङमा हालैमात्र निर्माण सम्पन्न भएको डेक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने छ ।
हिमालय एयरलाइन्सको जहाज काठमाडौंबाट स्थानीय समयअनुसार ८ः३० बजे उड्ने छ । उक्त जहाज डेक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँको स्थानीय समयअनुसार १६ः१० मा अवतरण गर्ने छ । उक्त जहाज बेइजिङबाट त्यहीदिन स्थानीय समयअनुसार १७ः४० मा उड्ने छ । नेपालमा उक्त जहाज ९ः४५ मा आइपुग्ने छ ।
हिमालयले कतारको दोहा, युएयइको आबुधावी, साउदीको दमाम र बांगलादेशको ढाका गरी तीनवटा ए ३२० जहाजबाट उडान गर्दै आएको छ । एयरलायन्सले सन् २०१९ भित्रै थप एयबसको ए २१९ सिरिजका २ जहाज थप गर्ने घोषणा गरेको छ ।





