इलाम । दशैँअघि बन्द भएको छिरुवा छोटी भन्सार कार्यालय अझै पनि खुल्न सकेको छैन ।
बिदामा घर गएका कर्मचारी नआएका कारण कार्यालय खुल्न नसकेको हो । इलामको सूर्योदय नगरपालिका ४ को अन्तुस्थित छिरुवा छोटी भन्सार कार्यालय दशैँ अगाडी देखी नै बन्द छ । एक स्थानीय बासिन्दाका अनुसार यहाँ रहेका एकजना कर्मचारी दशैँको घटस्थापना अघिसम्म कार्यालयमै थिए । तर उनी दशैँपछि सार्वजनिक विदा सकिएको १० दिन बितिसक्दासम्म कार्यालयमा देखिएका छैनन् । सीमाक्षेत्रमा रहेको भन्सारजस्तो कार्यालय कर्मचारीबिहीन भएर कुनै काम नहुँदा माथिल्लो निकायको अहिलेसम्म नजर परेको देखिँदैन ।
यो भन्सारले भारतको मिरिक, ओकाइटी लगायतका स्थानबाट मेची खोलाहुँदै आयात गरिने सामानको भन्सार राजस्व काट्ने र नेपालबाट ती स्थानमा निकासी हुने चौपाया लगायत अन्य सामानको भन्सार असुल्ने काम गर्ने गरेको छ ।