तौल कम गरी उपभोक्तालाई ठगी गर्ने व्यापारीलाई दुई लाख जरिवाना


२ कार्तिक २०७६, शनिबार १३:१० मा प्रकाशित

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले तौल कम गरी ठगी गरेको आरोपमा चुत्राबेँसीका एक व्यापारीलाई रु दुई लाख जरिवाना तिराएको छ ।

अनुगमनको क्रममा तौलमा उपभोक्तालाई ठगी गरेको भेटिएपछि रु दुई लाख रकम जरिवाना तिराएको हो । सन्धिखर्क–२, चुत्राबेँसीमा शिवा किराना तथा भण्डारका सञ्चालक कपिलवस्तुका सञ्जयकुमार कलवारले ३० किलो र २५ किलोको चामलको बोरामा एक किलो घटाएर बेचेको गुनासो आएपछि सन्धिखर्क नगरपालिकाले अनुगमन गरेको थियो ।

अनुगमन टोलीले उपभोक्तालाई ठगेको भेटाएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम रु दुई लाख ५ सय जरिवाना तिराएको टोलीका संयोजक जीवनारायण आचार्यले जानकारी दिए । कलवारले सन्धिखर्कका विभिन्न पसलमा राम चामल, ब्ल्याकबेरी चामल र कैलाशी चामलमा एक किलो घटाएर ४ सय २५ बोरा चामल बेचेको स्वीकार गरेपछि निजलाई रु दुई लाख ५ सय जरिवाना तिराएको सन्धिखर्क नगरपालिकाले बताएको छ ।

यस्तै सन्धिखर्क नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ, उपभोक्ता संरक्षण समितिलगायतको टोलीले दशैँको समयमा अनुगमन गरेर बरामद गरेका म्याद गुज्रेका आटा, चामल, बिस्कुट, भुजा, तेल, सुजी र चाउचाउसमेत गरी रु ३० हजार मूल्य बराबरको सामान शुक्रबार नष्ट गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here