पर्सा । पर्वका समयमा बढेको भिडभाडमा लुटपाट गर्न खोज्ने पाँच भारतीय पर्सामा पक्राउ परेका छन् ।
उनीहरुलाई पर्सा प्रहरी कार्यालयबाट सादा पोशाकमा खटेका प्रहरीले लुटपाट गर्न लागेको समयमा नै पक्राउ गरेको हो । पर्साको जगरनाथपुर गाउँपालिका–४ बस्ने वर्ष १५ को कन्हैयालाललाई लुटपाट गर्न खोजेको समयमा वीरगन्ज महामनगरपालिका वडा नम्बर १५ बसपार्कबाट पाँचै जनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ पर्ने अभियुक्तहरु भारत बिहार बेतिया घर भएका २६ वर्षीय अजय राम, त्यही ठाउँका १६ बर्षका अरुण मल्ली, १५ बर्षका भोला मल्ली, ४० बर्षका घुरिल मल्ली र २५ वर्षका सन्नी राम रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक गौतम थापाले बताए ।
सादा पोशाकमा रहेका प्रहरीले पाँचै अभियुक्तलाई पक्राउ गर्न सफल भएको उनको भनाइ छ । पक्राउ परेका अभियुक्तहरुले अरुको पनि सुनको सिक्री लगायतका सामान लुटपाट गरेको पर्सा प्रहरीमा थप उजुरी आउने क्रम जारी रहेकोले थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक थापाले बताए । त्यसैगरी बारा कलैया–१ घर भई हाल वीरगन्ज १६ बस्ने वर्ष २६ को सजिर रायभरलाई पनि गस्तीमा रहेको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका रायभरले वीरगन्ज २५ बस्ने नवनीत दासको मोबाइल फोन चोरी गरी भाग्दै गरेको समयमा पक्राउ गरी थुनामा राखेर थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
केही दिनयता पर्वको समयमा बढेको भिडभाडलाई लक्षित गरी लुटेरा र चोरहरुले थप गतिविधि बढाउन सक्ने कुरालाई आंकलन गरी प्रहरीले चालेको थप सुरक्षा व्यवस्था अनुसार अभियुक्तहरु धमाधम प्रहरी नियन्त्रमा पर्न थालेको प्रहरीको दावी छ । सादा पोशाकमा पनि साविकको भन्दा धेरै प्रहरी परिचालन गरिएकोले पर्वको भिडभाडमा पनि अपराधिक घटना घटाउन सकिन्छ भनी अपराध कर्ममा लाग्नेहरुले छुट पाउन नसक्ने पर्सा प्रहरीले जनाएको छ ।





