सरकारले सरकारी निकाय र सार्वजनिक संस्थामा सरसफाइलाई संस्थागत गर्न देशव्यापी ‘राष्ट्रिय सरसफाइ सप्ताह’ शुरु गरेको छ ।
अभियानको सोमवार वीर अस्पतालमा सरसफाई गरेर स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले शुभारम्भ गर्नुभएको हो । सरकारले सोमवारदेखि जेठ ८ गतेसम्म संघ, प्रदेश र स्थानीय तहअन्तर्गतका सरकारी कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थामा सरसफाई अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
कार्यक्रममा मन्त्री मेहताले सरसफाईलाई दैनिक व्यवहारमा रूपान्तरण गर्नुपर्ने बताउनु भयो । वीर अस्पताल देशकै पुरानो र सबैभन्दा बढी सेवाग्राही चाप रहेको अस्पताल भएकाले यहीबाट सरसफाई अभियान संचालन गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँले अस्पतालमा पछिल्लो समय सुधारको प्रक्रिया शुरु भएको दाबी गर्दै बिरामी तथा चिकित्सकबाट पनि सकारात्मक प्रतिक्रिया आएको जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयको १०० बुँदे प्राथमिकतामा सरकारले सरसफाइलाई पहिलो प्राथमिकतामा राखेको जनाकारी दिँदै उहाँले अस्पतालका शौचालय, फ्लस प्रणाली, वार्ड, भुइँतला तथा अस्पताल परिसरको स्वच्छतालाई विशेष निगरानीमा राखिएको जानकारी दिनुभयो ।
मन्त्री मेहताले बिरामीको चाप व्यवस्थापन र सेवा प्रवाह सहज बनाउन अस्पतालमा डिजिटाइजेशन गर्ने बताउनु भयो । वीर अस्पतालका उपसचिव हरी पंगेनीले सरकारले स्वीकृत गरेको ‘सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शक २०८३’ मा कार्यालय सरसफाई, शौचालय स्वच्छता, क्यान्टिन व्यवस्थापन, फोहोर व्यवस्थापन, सेवाग्राही सन्तुष्टि तथा संस्थागत अनुगमनलाई मुख्य सूचकका रूपमा समावेश गरिएको बताउनुभयो ।
सरकारी कार्यालय वरपर १०० मिटर क्षेत्रभित्रको सरसफाइसमेत सम्बन्धित कार्यालयको जिम्मेवारीभित्र राखिएको उहाँले जानकारी दिनुभयो । साथै प्रत्येक कार्यालय प्रमुखले नियमित अनुगमन, मूल्यांकन र प्रतिवेदन प्रणाली लागू गर्नुपर्ने व्यवस्था गरिएको उहाँको भनाई छ । उहाँले सरसफाई अभियानलाई वर्षभरि निरन्तर सञ्चालन गर्ने बताउनु भयो ।
सरसफाईसँगै अब सरकारी कार्यलयमा रहेका सूचना बोर्ड, नागरिक वडापत्र र सङ्केत चिह्नहरूलाई स्पष्ट र व्यवस्थित बनाइनेछ । चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत र रङ्गरोगन गरि मुख्य सेवा क्षेत्र र प्रवेशद्वारलाई आकर्षक र सफा राखिने जर्नाएको छ ।






