वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले कानून व्यवसायीहरूलाई पेशागत मर्यादा जोगाउन र आर्थिक रूपमा सबल बन्न वैकल्पिक आयका स्रोतहरू खोज्न सुझाव दिनुभएको छ ।
लामो समयदेखि कानून पेसामा आवद्ध भण्डारीले हालको समयमा कानून पेशा मात्रै जीवनयापन र धन आर्जनको भरपर्दो माध्यम हुन नसक्ने बताउनुभएको हो ।
आफ्नो लामो व्यावसायिक यात्राको स्मरण गर्दै भण्डारीले आफूलाई ‘अभागी भए पनि सौभाग्यशाली’ महशुस गरेको बताउनु भयो । उहाँले आफ्ना आज्ञा पालना गर्ने र सल्लाह मान्नेहरू देशको ठूला मन्त्रीदेखि पहिलो महिला प्रधानन्यायाधीशसम्म भएकोमा गर्व व्यक्त गर्नुभयो । सुशीला कार्की प्रधानन्यायाधीश भएको क्षणलाई उहाँले आफ्नो जीवनको एक महत्वपूर्ण र खुशीको उपलब्धिका रूपमा चित्रण गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी यो पेशाले मात्रै धन पाउन सक्दैनौँ । यो पेशा अहिले ठगीको पेशा भइसक्या छ । हाम्रो अन्य बाटो पनि पाउनुपर्छ । अर्थ साधन हो, बिना अर्थ केही हुँदैन ।’
कानून पेशाको साथसाथै अन्य आर्थिक गतिविधिमा संलग्न भई आत्मनिर्भर बन्नुपर्नेमा उहाँको जोड छ । पेशालाई ‘ठगी’ को आरोपबाट बचाउन र निष्ठा कायम राख्न आर्थिक अभाव हुन नहुने उहाँको तर्क छ ।






