दुर्गा माविको ७०औँ वार्षिकोत्सव सम्पन्न, पत्रकार सहित शिक्षक र दाताहरू सम्मानित


६ चैत्र २०८२, शुक्रबार १२:३३ मा प्रकाशित

बिर्तामोड । बिर्तामोड नगरपालिका–९ स्थित श्री दुर्गा माध्यमिक विद्यालयको ७०औँ वार्षिकोत्सव, अभिभावक भेला तथा दाता सम्मान कार्यक्रम बिहीबार भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका अवसरमा झापाली सञ्चारकर्मी तथा मोफसल अनलाइनका सम्पादक युवा पत्रकार भरत प्रसाईंलाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। उनलाई नगद रु ५ हजार १ सय  र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।

सोही अवसरमा विद्यालय परिसरमा निर्माण गरिएको मुख्य प्रवेशद्वार निर्माणकर्ताहरू यमुना भण्डारी, उमानाथ भण्डारी र गीता देवी तिम्सिनाले विद्यालयलाई हस्तान्तरण गरेका थिए।

करिब रु ३ लाख २० हजार लागतमा निर्माण गरिएको उक्त प्रवेशद्वारका निर्माणकर्तालाई विद्यालयले सम्मानपत्र र दोसल्ला प्रदान गर्दै सम्मान गरेको थियो। कार्यक्रममा उत्कृष्ट शिक्षक सम्मानबाट तीनजना शिक्षकहरू सम्मानित भएका छन्।

सम्मानित हुनेहरूमा भूपेन्द्र राउत, शान्ता बराल पौडेल र भूपेश मर्डी रहेका छन्। उनीहरूलाई जनही रु १० हजार नगद, सम्मानपत्र र दोसल्ला प्रदान गरिएको थियो।

त्यसैगरी, शिक्षक सेवा आयोग उत्तीर्ण भई अन्यत्र नियुक्ति भएका भुवन पौडेललाई विदाई गरिएको थियो। उत्कृष्ट विद्यार्थीका रूपमा कक्षा ९ की छात्रा जानुका मगर सम्मानित भइन् भने उत्कृष्ट अभिभावकका रूपमा ढाकादेवी सुवेदीलाई सम्मान गरिएको थियो।

विद्यालयको छात्रवृत्ति कोषमार्फत दुई दर्जनभन्दा बढी विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो। साथै ‘ह्याप्पी स्कुल प्रोजेक्ट’ अन्तर्गत विद्यालय पुनर्निर्माण तथा शैक्षिक वातावरण सुधारमा योगदान पुर्‍याउने ८० भन्दा बढी व्यक्ति तथा संघसंस्थालाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो।

कार्यक्रम बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तिलचन भण्डारी, दाताका तर्फबाट सरोज पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक लक्ष्मण शिवाकोटीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सहायक प्रधानाध्यापक लेखनाथ सुवेदीले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रमको सञ्चालन शिक्षक धर्मेन्द्र भट्टराई र धनकुमारी खरेलले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरेका थिए भने स्काउट टोलीले आकर्षक मार्चपास प्रदर्शन गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here