८ लाखले उपत्यका छाड्ने अनुमान, यातायात प्रणाली चुस्त राखिने


१६ फाल्गुन २०८२, शनिबार १४:१४ मा प्रकाशित

काठमाडौं । निर्वाचनसँगै लामो बिदा परेकाले ८ लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ । 


निर्वाचन आसपासमा करिव एक साताजस्तो सार्वजनिक बिदा पर्ने भएपछि ठूलो संख्यामा मानिसहरुले काठमाडौं छोड्ने तयारी गरेका छन् । सरकारले आमनिर्वाचनका लागि फागुन २०, २१ र २२ गते तीन दिन बिदा दिएको छ भने फागुन १८ गते पहाडी क्षेत्रमा फागू पूर्णिमाको बिदा परेको छ । यस्तै फागुन १९ गते तराईमा फागू पूर्णिमाको बिदा परेको छ । 
फागुन २३ गते शनिवार र २४ गते अर्थात ८ मार्चका दिन अन्तर्राष्ट्रिय महिला दिवसको विदा परेको छ । यसरी फागुन १८ देखि २४ सम्म सात दिन बिदा हुनेभएपछि दशैँ तिहारमा जस्तै यसपटक आगामी हप्तामा धेरैले उपत्यका बाहिर जाने तयारी गरेका छन् । 


यातायात व्यवसायीहरुकाअनुसार अहिलेबाटै उपत्यका छाड्नेहरु बढेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौलाले ६–७ दिनको सार्वजनिक बिदाको कारणले सार्वजनिक यातायातमा चाप पर्न थालेको बताउनु भयो । १९ गतेसम्मका लागि लामोदूरीका गाडीहरुमा भीडभाड रहेको उहाँको भनाइ छ । सिटौलाकाअनुसार १७, १८,१९ गते थेगिनसक्नु भीड छ । धेरैले गाडी रिजर्व समेत गर्न थालिसकेका छन् । 


सिटौलाले भन्नुभयो–‘६/७ दिनको बिदाका कारण काठमाडौं उपत्यकाबाट निकै धेरै यात्रुहरु उपत्यकाबाट घरतर्फ जाने हामीले देखिरहेका छौँं । जानेक्रम शुरु भइसकेको छ । आम निर्वाचनको क्रमलाई लिएर सुरक्षा निकायहरु समेत आफ्नो कार्यक्षेत्रमा गइसकेको अवस्था पनि छ । करिव ८–९ लाखको हाराहारीमा आआफ्नो गृहजिल्लामा जाने क्रम शुरु भइसकेको छ । १९ गतेसम्म लामोदूरीका गाडीहरुमा अत्यान्तै भीडभाड छ । १७, १८,१९ गते थेगिनसक्नु बीड छ । धेरै सवारीसाधन रिजर्व गर्न थालिसक्नुभएको छ ।


यातायात व्यवसायी सिटौलाकाअनुसार लामो दूरी कञ्चनपुर, डडेलधुरादेखि अर्घाखाँची, गुल्मी, पाल्पा जस्ता जिल्लामा १९ गतेपछि गाडी जानसक्ने अवस्था रहने छैन । मध्यम दूरी काभ्रे, धादिङ सिन्धुपाल्चोकसम्मका दूरीमा गाडीहरु चल्नेछन् । 


यातायात व्यवस्था विभागले पनि आम निर्वाचनको असापासमा धेरै बिदा परेकाले यात्रु बाहिर जाने भएकाले सार्वजनिक यातायातलाई चुस्त राखिने बताएको छ । विभागका महानिर्देशक राजीव पोखरेलले सार्वजनिक यातायात प्रणालीलाई चुनावका बेला चुस्तदुरुस्त राख्न योजनावद्ध तवरले विभाग लागिरहेको बताउनु भयो ।


विभागका महानिर्देशक पोखरेलले भन्नुभयो–‘आम निर्वाचन नजिकिएको छ । यो बेला यातायात प्रणालीलाई चुस्तदुरुस्त बनाउन विभिन्न कामहरु गरिरहेका छौँ । आसन्न चुनावमा .देशबाट एक ठाउँबाट अर्को ठाउँमा जाने क्रम शुरु भइरहेको छ र विदेशबाट पनि नेपाली नागरिकहरु नेपाल आउने क्रम बढिरहेको छ । अहिले यातायात प्रणालीलाई व्यवस्थित बनाउन विभिन्न स्टेक होल्डरहरुसँग बसेर छलफल गरेका छौँ । अहिले सार्वजनिक यातायातबाटै सबै नागरिकलाई आफ्नो गन्तव्य .पु¥याउनसक्ने अवस्थामा छौँ । यदी पुगेन भने हामी अरु पूर्वतयारी पनि गरेर बसेका छौँ । सार्वजनिक यातायातले पुगेन भने अरु क्षेत्रका गाडीहरु समेत प्रयोग सक्ने छौँ ।


उहाँले निर्वाध रुपमा सार्वजनिक यातायातबाट नागरिकलाई सुरक्षित गन्तव्यमा पु¥याइने बताउँदै अपुग भए नेपाली सेनादेखि स्कुल, कलेजका सबारी साधनसमेत सरकारले प्रयोग गरेर चलाउने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here