कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सैनिक दिवसका अवसरमा टुँडिखेलमा भएको विदेशी सैनिकहरूको प्रदर्शनलाई विश्वव्यापी परिपाटी र मित्रताको प्रतिकका रूपमा चित्रण गर्नुभएको छ ।
सोमवार निर्वाचनमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुसँगको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले विभिन्न देशका सैनिकहरूबीच हुने तालिम आदानप्रदान र मैत्रीपूर्ण प्रदर्शनलाई नकारात्मक रूपमा हेर्न नहुने बताउनु भयो ।
भण्डारीले सैनिक दिवसको उपलक्ष्यमा अमेरिकी, बेलायती र भारतीय सैनिकका टुकडीहरूले आफ्नो कला प्रदर्शन गरेको उल्लेख गर्नुभयो । उहाँकाअनुसार यस्ता प्रदर्शनहरू मित्र शक्तिहरूबीचको सम्बन्ध प्रगाढ बनाउन र तालिमको अनुभव साटासाट गर्न विश्वभरि नै हुने गरेका छन् ।
सामाजिक सञ्जालमा केही व्यक्ति र राजनीतिक दलका नेताहरूले अमेरिकी सैनिकको नाचलाई लिएर सरकारको आलोचना गरेकोप्रति लक्षित गर्दै भण्डारीले यसलाई मानसिकताको उपज भएको बताउनु भयो ।
विदेशी सेनाको उपस्थितिलाई लिएर ‘खबरदार’ भन्दै गरिएको टिप्पणीहरूतर्फ संकेत गर्दै उहाँले देशका जिम्मेवार व्यक्तिहरूले पनि यस्ता विषयमा नकारात्मक मानसिकता राख्नु दुःखद् भएको बताउनु भयो । उहाँले कुन देशप्रतिको कस्तो दृष्टिकोण छ भन्ने कुराले मात्र यस्ता विषयलाई विवादित बनाइएको तर्क गर्नुभयो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सैन्य कुटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका आयामहरूलाई बुझेर मात्र धारणा सार्वजनिक गर्न सरोकारवालाहरूलाई आग्रह गर्नुभयो ।






