ठूलो धनराशी खर्च गरेर निर्वाचन जित्ने प्रतिनिधिहरूको पहिलो प्राथमिकता खर्च असुली हुन्छः भोजराज पोखरेल


४ फाल्गुन २०८२, सोमबार १३:०९ मा प्रकाशित

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनमा हुने अत्याधिक खर्चले भ्रष्टाचारलाई प्रश्रय दिइरहेको बताउनुभएको छ । 


सोमवार निर्वाचन आयोगले सञ्चालन गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनमा हुने अत्याधिक खर्चले सुशासनको मार्गमा गम्भीर चुनौती खडा गरेको बताउनु भयो ।

पोखरेलले नीति फाउण्डेशनको अध्ययनलाई उद्धृत गर्दै ठूलो धनराशी खर्च गरेर निर्वाचन जित्ने प्रतिनिधिहरूको पहिलो प्राथमिकता खर्च असुली र दोस्रो प्राथमिकता आगामी आगामी निर्वाचनका लागि स्रोत जुटाउनु हुने गरेको औंल्याउनु भयो । यसले गर्दा जनप्रतिनिधिहरूको ध्यान जनताको आवश्यकता पूर्ति गर्नुभन्दा पनि चन्दादाताहरूको स्वार्थ सिद्ध गर्नतर्फ मोडिने गरेको उहाँको विश्लेषण छ ।

ट्रान्सफरेन्सी इन्टरनेशनलको अन्तर्राष्ट्रिय प्रतिवेदनलाई आधार मान्दै उहाँले निर्वाचन खर्च सीमाभित्र राख्ने देशहरूमा मात्र भ्रष्टाचार नियन्त्रण र सुशासन सम्भव भएको स्पष्ट पार्नुभयो । अनियन्त्रित चुनावी खर्चले देशको समग्र प्रणालीलाई नै विकृत बनाउने हुँदा यसमा गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपालको कानूनी व्यवस्था र यथार्थको चर्चा गर्दै पोखरेलले उम्मेदवारहरूले निर्वाचनका लागि ऋण लिने र पछि तिर्न नसकेर समस्यामा पर्ने गरेको तीतो सत्य रहेको बताउनु भयो । उहाँकाअनुसार कतिपय देशमा निजी खर्चमा पूर्ण प्रतिवन्ध लगाइएको भएपनि नेपालमा स्वेच्छिक सहयोग लिन पाउने खुला प्रावधानले गर्दा पारदर्शितामा समस्या देखिएको छ । 

उहाँले निर्वाचन प्रणालीलाई स्वच्छ बनाउन चन्दा संकलनको स्पष्ट सीमा र खर्चको कडा निगरानी आवश्यक रहेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here