काँकरभिट्टा । नेपालको सुदूर पूर्वमा रहेको मेची भन्सार कार्यालय काँकरभिट्टामा ‐अनलाइन भ्यालुएसन सफ्टवेयर ) भन्सार मूल्याङ्कन डाटाबेस प्रणाली सञ्चालनमा आएको छ ।
लामो समयदेखि निजी क्षेत्रको विरोध खेप्दै आएको भन्सार मूल्याङ्कनको ‘सन्दर्भ मूल्य सूची’ प्रणालीलाई विस्थापित गर्दै सरकारले ‘मूल्याङ्कन डाटाबेस प्रणाली’ लागु गरेको छ । यो प्रणाली शुभारम्भ भएको मेची भन्सार कार्यालय काँकरभिट्टा आठौं हो भने झापाको भद्रपुर भन्सार कार्यालय सातौं हो ।
यसअघि बीरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी महेन्दनगर भन्सार कार्यालयमा ‐अनलाइन भ्यालुएसन सफ्टवेयर ) भन्सार मूल्याङ्कन डाटाबेस प्रणाली सञ्चालनमा आएको मेची भन्सार कार्यालय काँकरभिट्टाका भन्सार अधिकृत रामचन्द्र ढुङ्गानाले बताए ।
मंगलबार नेपाल सरकार अर्थ मन्त्रालयका सचिव भुपाल वरालले भन्सार मूल्याङ्कन डाटाबेस प्रणालीको उद्घाटन गरे । सरकारले सुरु गरेको प्रणालीले नेपालको भन्सार प्रशासनमा पारदर्शिता, निष्पक्षता र एकरूपता ल्याई वैध व्यापारलाई सहजीकरण गर्ने तथा राजस्व चुहावट नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने, छिटोछरितो, पारदर्शी र कम जोखिमपूर्ण बनाउने अपेक्षा गरिएको छ ।
सचिव वरालले यो प्रणली महत्वपूर्ण सुधारका रुपमा शुरूवात भएको र सामुहिक सहकार्य समन्वयका कारण यसले सकरात्मक परिणाम दिने विश्वास समेत व्यक्त गरे । भन्सार प्रशासनमा पारदर्शीता बढाउन अनलाइन डाटाबेस प्रणाली लागु गरिएको उनले बताए । यसले भन्सार प्रक्रियालाई छिटोछरितो र कम जोखिमपूर्ण बनाउने सचिव वरालले बताए । उनले करको दर नभई दायरा फराकिलो बनाएर आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पारे ।
वर्तमान सरकार लगानी मैत्री वातावरण बनाउँन तत्पर रहेको र यसमा सवै पक्ष जिम्मेवार बन्नुपर्ने उनको भनाई थियो । यस अघि धेरै प्रणाली सुधार भएपनि व्यपारमा अझै विकृति विसंगति रहेको र क्रेता विक्रेता सवैले बील बीजक लिनेदिने काममा लाग्नुपर्ने सचिव वरालले बताए । कर कानूनको पालना गरेर कर तिर्ने र पारदर्शी व्यपारका लागि सवै उद्योगी व्यवसायीहरुको सामूहिक प्रतिवद्धता व्यक्तको आवश्यकता रहेको उनले स्पष्ट पारे ।
अन्तर्राष्ट्रिय व्यपारलाई सहज बनाउँदैं, अबाञ्चित गतिविधि प्रणालीले रोक्नेमा विश्वास व्यक्त गर्दै सचिव वरालले यसको परिणाम राम्रो आएको तर मेचीमा निजी क्षेत्रको प्रतिवद्धता आवश्यकता औल्याँए । बील बीजक लिने तथा दिने गरेर आफ्ना व्यपार पारदर्शी बनाउँन समेत उनले उद्योगी व्यवसायीमा आग्रह गरे । यसका लागि नेपाल उद्योग बाणिज्य महासंघले आफ्ना सदस्यहरुलाई बील बीजक अनिवार्य जारी गर्न निर्देशन दिनुपर्ने बताए ।
हरेक उद्योगी व्यवसायीहरुले कानून बुझिदिन आग्रह गर्दै उनले ‐अनलाइन भ्यालुएसन सफ्टवेयर ) भन्सार मूल्याङ्कन डाटाबेस प्रणाली सञ्चालनमा आए लगत्तै सबै सुधार नहुने यसका लागि उद्योगी व्यवसायी, भन्सार एजेन्ट, कर्मचारी सवैले कानून पालना गरेर आनीबानीमा सुधार गर्नुपर्नेमा उनले जोड दिए ।
भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीका अनुसार नयाँ प्रणालीले वस्तुको मूल्याङ्कन प्रक्रियालाई सुधार गर्नेछ । पारदर्शी र कम जोखिमपूर्ण पनि हुने उनको भनाइ छ । भन्सार मूल्याङ्कन डाटाबेस प्रणालीले सम्भावित अनियमितता पनि नियन्त्रण गर्ने उनले बताए । वस्तुको मूल्याङ्कनमा सफ्टवेयरमा आर्टिफिसियल इन्टेलिजेन्स पनि प्रयोग गर्ने योजना रहेको उनले बताएका छन् । छिटो र सरल ढङ्गले भन्सार छानबिन गरी वैध व्यापारको सहजीकरण गर्न मद्दत गर्ने विश्वास महानिर्देशक भण्डारीले व्यक्त गरे । यो प्रणाली लागु भएसँगै उद्योगी व्यवसायीहरूलाई सरकारले अझ बढी विश्वास गरेको स्पष्ट सन्देश दिएको छ ।
सन्दर्भ मूल्य सूचीलाई विस्थापित गर्दै कारोबार मूल्यलाई नै भन्सार मूल्यको मान्यता दिने तथा भन्सार मूल्याङ्कन निष्पक्ष, पारदर्शी र एकरूप ढङ्गले निर्धारण हुने भण्डारीको भनाइ छ । यसले उद्योगी व्यवसायीलाई सरकारप्रति उत्तरदायी बनाउने र व्यावसायिक लागत पनि न्यून हुने उनको तर्क छ । उनले भने, ‘बीजक मूल्य सन्दर्भ मूल्यभन्दा बढी भएमा पनि भन्सार मूल्याङ्कन सन्दर्भ मूल्यमै गरिने सम्भावना रहन्थ्यो । यसले वास्तविक खरिद मूल्य र भन्सार मूल्यांकनबिचको अन्तर ‘हुन्डी’मार्फत बिदेसिने वा अवैध कारोबारमा संलग्न हुने सम्भावनालाई बढाउँथ्यो, जसले विदेशी मुद्राको अपचलन र राजस्व चुहावटलाई बढवा दिन्थ्यो ।
उनका अनुसार यदि बीजक मूल्य सन्दर्भ मूल्यभन्दा कम भएमा जरिवानाबाट बच्नका लागि व्यवसायीहरू सन्दर्भ मूल्यसूचीमा उल्लेख भएबमोजिमकै मूल्यमा पैठारी गर्न बाध्य हुनुपर्ने थियो । यसले वास्तविक मूल्यभन्दा बढी पूँजी विदेश जाने स्थिति सिर्जना गरेको थियो । जसले राष्ट्रिय अर्थतन्त्रलाई नकारात्मक असर पु¥याउँथ्यो । यी विकृतिहरूलाई नियन्त्रण गर्न मूल्याङ्कन डाटाबेस प्रणाली अपरिहार्य भएको भण्डारीले बताए ।
अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले अर्थ मन्त्रालयले नयाँ काम गर्न खोजेको, करदाता मैत्री कानून तर्जुमा गरी व्यपार सहजीकरण प्रमुख उद्धेश्य रहेको बताए । यो युग सूचना प्रविधिको युग भएकाले यो प्रणाली कार्यन्वयनमा लाग्न सवैमा आग्रह गरे । अब सवैले बैध र पारदर्शी व्यपार गर्नुपर्ने भन्दैं उनले सहि र बैध व्यपार गर्ने व्यवसायीलाई सरकारले प्रोत्साहन गर्ने यस्ता व्यपारीसँग हातेमालो गर्ने र चोरी पैठारी गर्नेलाई कारवाही गर्ने चेतावनी दिए ।
यो प्रणाली कार्यान्वयन गर्ने जिम्मेवारी सवै व्यवसायीको भएको बताउँदैं सिक्ने कुनै कुरा भए भन्सार प्रशारसाले सिकाउँने बताए । अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रूपमा रहेको निजी क्षेत्रलाई सुरक्षा र सुशासनको प्रत्याभूतिसहित व्यवसाय सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरे ।
उनले यसका अतिरिक्त अन्तर्राष्ट्रिय व्यापारमा विश्व व्यापार संगठनद्वारा अनुमोदित ‘ग्याट भेलुयसन प्रणाली’लाई नेपालको भन्सार ऐन, नियममा समेत स्विकारिएको सन्दर्भमा कारोबार मूल्यलाई मान्यता दिनेगरी सोको परीक्षणका लागि अनलाइन कस्टम डाटाबेस प्रणाली कार्यान्वयनमा ल्याइएको बताए । उनले भने,“यस प्रणालीको कार्यान्वयनले वैध व्यापारलाई प्रोत्साहन, मूल्यअभिवृद्धि करलगायत अन्य कर कार्यान्वयनमा सहायता पुग्ने छ । साथै अनौपचारिक कारोबारमा कमी आउने र उद्योग व्यवसाय फस्टाउने अपेक्षा राखेका छौँ ।”
शुभारमभ कार्यक्रममा एसियाली विकास बैंकका भन्सार मूल्याङ्कन विज्ञ निर्मलहरि अधिकारी, उद्योगी व्यवसायीहरु विमल आचार्य, केशवराज पाण्डे, खेमराज प्रसाईं, उमेश डालमियाँ, पन्नालाल जैन,टीकाराज ढकाल, यमबहादुर श्रेष्ठ, कपिल क्षेत्रीलगायतले विविध विषयमा बोलेका थिए । भन्सार विभागका निर्देशक ज्ञानेन्द्रराज ढकालले सहजीकरण गरेको कार्यक्रममा मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेले सहभागी सवैमा धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाल, भन्सार विभागका निर्देशक भुपालराज शाक्य, अर्थ मन्त्रालयका उपसचिव जीवनाथ ज्ञावली, आन्तरकि राजस्व कार्यालय भदपुरका प्रमुख कर अधिकृत गोपाल थापा, विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठलगायत झापाका उद्योगी व्यवसायीहरु, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।






