काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रमको मूल्य भन्दा कम पारिश्रामिकमा नेपाली कामदार विदेश पठाउन नहुने बताउनुभएको छ ।
२५ औँ अन्तर्राष्ट्रिय आप्रवासनको व्यवस्थापन तथा पुनः एकीकरणका विषयमा मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । श्रमको मूल्य र सुरक्षाको ग्यारेन्टी गरेर दक्ष सीपयुक्त व्यक्तिलाई मात्रै रोजगारको लागी अन्तर्राष्ट्रिय बजारमा पठाउनुपर्नेमा जोड दिनुभयो ।
हाल विश्वव्यापी रुपमा १ करोड ७९ लाख भन्दा बढी श्रम आप्रवासी रहेको उल्लेख गर्नुहुँदै नेपालबाट पनि वार्षिक ८ लाख ३९ हजार नेपाली रोजगारीको लागि विदेशिने गरेको जानकारी दिनुभयो ।
विदेशमा पहिलो पटक जाने नै पाँच लाख बराबरको जनशक्ति रहेको र त्यो अझ थपिने क्रममा रहेको उहाँको भनाई छ । उहाँले नेपालको विकासमा आवश्यक जनशक्ति पुँजी र रोजगारको खोजीमा विदेशीन बाध्य रहेको बताउनुभयो ।
हाल नेपालमा नै उनीहरुलाई रोक्न सक्ने अवस्था पनि नरहेको उहाँको भनाई छ । उहाँले नेपालमा रोजगारीको सम्भावना र अवसरहरुको खोजी गरी बजारको माग, अवस्था पहिचान गरेर सोही अनुरुपको सीपयुक्त र दक्ष जनशक्ति निर्माण गर्न लाग्नुपर्ने बताउनु भयो ।
विश्व बजारको मागअनुसारको सीपयुक्त, क्षमतावान् र दक्ष जनशक्तिहरु विदेश पठाउनसके मात्रै नेपालीहरु श्रम शोषणमा नपर्ने उहाँले बताउनु भयो । उहाँले श्रम गर्नको लागि विदेश जान बाध्य नेपालीहरुलाई मेनपावर कम्पनी तथा विचौलियहरुले दुख दिने गरेको उल्लख गर्नुभयो ।
वैदेशिक रोजगारीमा जानेलाई ठगी गर्ने, दुःख दिनेलाई कारबाही गर्न मन्त्रालयले विशेष संयन्त्र तयार गर्न लागेको पनि उहाँले जानकारी दिनुभयो । मन्त्रायले प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोसँगको सहकार्यमा ठगीमा संलग्नहरुलाई कारबाही प्रक्रिया गर्न विशेष अभियान नै सञ्चालन गर्ने उहाँको भनाई छ ।






