सबै राजनीतिक दल निर्वाचनमा होमिसके, जनता भोट हाल्न आतुर छन्ः सञ्चारमन्त्री खरेल


३ पुष २०८२, बिहीबार १५:०३ मा प्रकाशित


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनितिक दलहरु निर्वाचनको तयारीमा जुटिसकेको बताउनुभएको छ । 


बिहीवार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक दलहरु निर्वाचनमा होमिएको बताउनुभएको हो ।

राजनीतिक दलहरुले निर्वाचनको लागि उम्मेद्वार सिफारिस समेत गर्न थालिसकेको बताउनु भयो । उहाँले निर्वाचनको तयारी स्वरुप कतिपय राजनीतिक दलहरुले गाउँदेखि शहरसम्म अभियान चलाएको उल्लेख गर्नुभयो । निर्वाचन आयोगले पनि निर्वाचनको कामलाई द्रुत गतिमा अगाडी बढाएको उहाँले जानकारी दिनुभयो ।

फागुन २१ गते हुने निर्वाचनको लागि ८ लाख भन्दा बढी नयाँ मतदाताहरु थपिएकोले देशमा निर्वाचन महोत्सव बन्न लागेको दाबी पनि गर्नुभयो । निर्वाचनमा भोट हाल्न जनता पनि आतुर रहेको उहाँको भनाई छ । सरकारले सबैखालका स्रोत, साधान, जनशक्ति तयार गरेर निर्वाचनलाई सफल बनाउने वातावरणमा लागेको पनि उहाँले जानकारी दिनुभयो ।

मुलुक निर्वाचनमा अगाडी बढिसकेको उहाँको दाबी छ । उहाँले वर्तमान सरकार जेन–जी आन्दोलनको म्याण्डेटअनुसार नै चलेको बताउनु भयो । निर्वाचनको तयारी तिब्र गतिमा बढेको उल्लेख गर्नुुहुँदै उहाँले सुशासनका कार्यहरु पनि सरकारले अगाडी बढाएको बताउनु भयो ।

वर्तमान सरकार गठन भएको तीन महिनामा ३० भन्दा बढी भ्रष्टाचारका मुद्दाहरु अदालत पुगेको उहाँको भनाई छ । सरकारले राज्यका निकायहरुलाई स्वतन्त्र ढंगले काम गर्न दिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले निर्वाचनको वातावरण बनाउन र मतदाता शिक्षा प्रदान गर्नको लागि सहयोग गर्न सञ्चारमाध्यामहरुलाई पनि आग्रह गर्नुभयो । वर्तमान सरकारले निर्वाचन र सुशासनको कामसँगै अगाडी बढाएको उहाँको दाबी छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here