काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिसहरु कार्यान्वयनका लागि सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।
७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर बुधवार सिंहदरबारमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री सिन्हाले संघ, प्रदेश तथा स्थानीय तह र सरोकारवालाहरुले मानव अधिकार संरक्षण र संवद्र्धनमा अतुलनीय योगदान दिएको उल्लेख गर्दै त्यसमा केही कमी देखिए सुधारका लागि सरकारलाई रचनात्मक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गर्नुभयो ।
उहाँले मानव अधिकारको संरक्षण र संवद्र्धनमा सरकारसँग सहकार्य गरेर अघि बढ्न पनि मानव अधिकारकर्मी र नागरिक समाजका अगुवाहरुलाई आग्रह गर्नुभयो । मन्त्री सिन्हाले सरकारले मानव अधिकार आयोगको संस्थागत सुदृढिकरणमा पनि जोड दिएको बताउनु भयो ।
मन्त्री सिन्हाले सत्य तथा निरुपण आयोग र बेपत्ता छानविन आयोगको प्रतिवेदन कार्यान्वयन गर्न पनि सरकार लागि परेको बताउनु भयो ।






