काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागून २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा दुईतिहाई बहुमत ल्याउने दाबी गर्नुभएको छ ।
सोमवार ललितपुरमा आयोजित कार्यक्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो । निर्वाचनबाट दुईतिहाई बहुमत ल्याएपछि पार्टीले समाजवादको यात्रा तय गर्ने बताउनु भयो । उहाँले दुईतिहाई मत ल्याउनको अहिलेदेखि नै तयारी थाल्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो । टोल, वडा, पालिका कुनै स्थान खाली नराखी जनताको जानुपर्ने उहाँको भनाई छ ।
१७ वटा पार्टी एकिकृत भएर पार्टी बनेको उल्लेख गर्नुहुँदै उहाँले जनताको घर दैलोमा पुग्न नेताको अभाव नै नहुने बताउनु भयो । उहाँले देशमा समाजवाद ल्याउनको लागि नेपाली कम्युनिष्ट पार्टीले दुईतिहाई ल्याउनैपर्ने उल्लेख गर्नुभयो ।
उहाँका अनुसार पार्टीले दुईतिहाई बहुमत ल्याएपछि समाजवादको काम त्यहाँबाट थालनी हुनेछ । जनताको सुविधाको लागि बाटो बन्ने, उत्पादन वृद्धि गर्ने, विकासका लागि सारा संसारबाट वैज्ञानिकहरुलाई नेपाल ल्याउने, नेपालबाट सीप सिक्न बाहिर पठाउने लगायतको काम गर्ने उहाँले बताउनु भयो । आउने नयाँ पुस्ताले गौरव गर्ने खालको नेपाल निर्माण गर्ने उहाँले दाबी गर्नुभयो ।
उहाँले समाजवाद निर्माणको लागि युवाहरुलाई उत्पादनसंग जोड्नुपर्ने बताउनु भयो । १६ वर्षदेखि ९० वर्ष मुनिका काम गर्नसक्ने जनशक्तिलाई श्रम गर्न लगाउनुपर्ने उहाँको भनाई छ । रोजगार नपाएर नै युवाहरु आन्दोलनमा उत्रिने गरेको उहाँले बताउनु भयो ।






