जसपा, नाउपा नेपाल र राष्ट्रिय मुक्ति पार्टीले एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा जाने


११ मंसिर २०८२, बुधबार १८:३६ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी, नेपालले एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्ने भएका छन् ।


बुधवार निर्वाचन आयोग पुगेर अशोक राई, राजेन्द्र महतो र रेशमलाल चौधरीले एउटै चुनाव चिन्हबाट निर्वाचन लड्ने भन्दै निर्वाचन आयोगमा निवेदन दिएका हुन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले जसपाको नेपाली कम्युनिष्ट पार्टीसँग कुनै एकता नहुने र निर्वाचन पछि पनि कुनै कम्युनिष्ट पार्टीमा मिसिने सम्भावना नरहेको जिकिर गर्नुभयो । 

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टुट्नु र फुट्नु राजनीतिको संस्कार भएको बताउनु भयो । सबैभन्दा ठूलो कुरा मुद्दा हुने भन्दै आफ्नो मुद्दामा अडिग रहन सक्नुपर्ने बताउनु भयो । 

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मूल्य, मान्यताको आधारमा एकीकृत हुनसके विभाजन कम हुने बताउनु भयो । तर आफूहरु एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुने उद्देश्यका साथ निर्वाचन आयोग पुगेको बताउनु भयो । आफूहरु खास उद्देश्य र लक्ष्यका साथ सहकार्य गरिरहेको बताउनु भयो । 

निर्वाचन आयोगमा हालसम्म १०१ वटा राजनीतिक दलहरुको निवेदन परेको निर्वाचन आयोगले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here