हेमराज ढकाल भन्छन्ः ‘राजनितिक दल जस्तै उद्योग खोल्ने प्रतिष्पर्धा गरौँ’


११ मंसिर २०८२, बुधबार १५:१४ मा प्रकाशित


काठमाडौं । नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले देशमा कम्पनी, उद्यमशिलता र उद्योग खोल्ने वातावरण बनाउनुपर्ने बताउनुभएको छ । 


राष्ट्रिय युवा परिषदले बुधवार आयोजना गरेको कार्यक्रममा उहाँले हाल देशमा राजनितिक दलहरु खुले जसरी उद्योग खोल्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको हो । हाल देशमा दिनहुँ नयाँ राजनितिक दल खुलिरहेको उहाँको भनाई छ । जेन–जी आन्दोलनपछि नेपालमा नयाँ राजनितिक दल खोल्ने प्रतिष्पर्धा नै चलेको छ ।

राजनितिक दल खोल्ने प्रतिस्पर्धालाई व्यङ्ग्य गर्दै उपाध्यक्ष ढकालले कम्पनी, उद्यमशिलता र उद्योग खोल्ने प्रतिष्पर्धा हुनुपर्ने बताउनु भयो । उहाँले नयाँ राजनीतिक दल खुल्दैमा मात्रै देशमा समृद्धि सम्भव नहुने बताउनु भयो । उद्यमशिलता, उद्योग र आर्थिक सुधारलाई राजनीतिक एजेण्डाको मुख्य प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाई छ ।

उहाँले आगामी निर्वाचनका लागि राजनीतिक दलहरूले तयार गर्ने घोषणापत्रमा कम्पनी दर्ता, उद्यम सञ्चालन र उद्योग विस्तारलाई सहज बनाउने स्पष्ट नीति समावेश गर्नैपर्नेमा जोड दिनुभयो ।

राजनीति केन्द्रित सोचले मात्रै देश विकास गर्न नसक्ने भन्नुहुँदै उहाँले राजनीति र अर्थतन्त्रलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पुराना कानूनहरुलाई परिवर्तन गरी समयानुकुल बनाउनुपर्ने पनि बताउनु भयो ।

५० वर्ष पुराना कानून र प्रणालीले नयाँ पुस्ताको क्षमतालाई सम्बोधन नगर्ने उहाँको भनाई छ । उहाँले दुई ठूला मुलुकको बीचमा रहेको भौगोलिक अवस्थालाई नेपालले रणनीतिक अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले पुराना पुस्ताको अनुभव र नयाँ युवाहरुको सोचलाई सँगै अगाडी बढाएर देश समृद्ध बनाउन लाग्नुपर्ने बताउनु भयो । झन्डै ४२ प्रतिशत युवा जनसंख्या भएको नेपालले एआई, मेसिन लर्निङ र नयाँ प्रविधिमा आधारित उद्यमशीलता विकास गर्न सके छिट्टै समृद्धिको बाटो समात्न सकिने उहाँको भनाई छ ।

युवाहरूलाई उद्यम र नवप्रवर्तनमा प्रत्यक्ष पहुँच दिलाउने नीति बनेमा मात्र नेपालले दिगो आर्थिक प्रगति गर्नसक्ने उहाँले बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here