दुर्गा प्रसाईंको नागरिक बचाउ दलले गर्‍यो निर्वाचन आयोग पुगेर सनाखत


१ मंसिर २०८२, आईतवार १७:३९ मा प्रकाशित


नागरिक बचाउ अभियानका प्रवक्ता माधव कल्पितले  आईतवार निर्वाचन पुगेर नयाँ पार्टीका लागि सनाखत गर्नुभएको छ । 


अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा रहेको दल ‘नागरिक बचाउ दल, नेपाल’को लागि उहाँले सनाखत गर्नुभएको हो । दलको प्रश्तावित अध्यक्ष समेत रहनुभएका कल्पितले आयोगमा पुगेर सनाखत पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सनाखतपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष कल्पितले आगामी प्रतिनिधि सभा निर्वाचनमा गरिब र नागरिकका मुद्दामा आधारित स्पष्ट एजेण्डा लिएर चुनावी मैदानमा उत्रिने दाबी गर्नुभयो ।

उहाँले परम्परागत राजनीतिक शक्तिहरूले जनताको सरोकार बिर्सिएको अवस्थामा आफ्नो दल वैकल्पिक शक्तिको रुपमा उभिने दाबी समेत गर्नुभयो । उहाँकाअनुसार दलले गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मूल एजेण्डा बनाई चुनावमा जानेछ । 


उहाँले आगामी निर्वाचनमा मतदाताको विश्वास जितेर सिंहदरबार र संसद् भवनसम्म जनताको मुद्दा लैजाने लक्ष्य दलको रहेको स्पष्ट पार्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here