‘जेन–जी समूहहरु नै आईएनजीओ र एनजीओको ‘फण्डिङ’ले चल्न थाले, एकता असम्भव’


२४ कार्तिक २०८२, आईतवार १७:४१ मा प्रकाशित


काठमाडौं ।  जेन–जी आन्दोलनका प्रतिनिधिहरूले राजनीतिक दल, आईएनजीओ र एनजीओबाट फण्डिङ केही जेन–जी समूहहरुले आन्दोलनका मूल मुद्दा कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । 


आईतवार काठमाडौंमा आयोजित ‘ऐतिहासिक जेन–जी आन्दोलन र परिवर्तनको मार्गचित्र’ विषयक गोष्ठीमा बोल्दै उनीहरुले यस्तो आरोप लगाएका हुन् । जेन–जी समूहहरुको विभागजन र स्वार्थी प्रवृत्तिका कारण जेन–जी आन्दोलनको औचित्यमाथि नै शंका उत्पन्न हुन थालेकोप्रति उनीहरुले चिन्ता व्यक्त गरे ।

जेन–जी प्रतिनिधि अबिन मयाङ्बोले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम लगायत तीन वटा मुद्दा लिएर आन्दोलन सुरु गरिएको भएपनि केही जेन–जी समूहहरु सत्ताकै पछि दौडिरहेको आरोप लगाउनु भयो । उहाँले जेन–जी आन्दोलनले उठाएका मागहरु पूरा गर्न आफूले एकताका लागि आह्वान गरेको भएपनि कोही जेन–जी समूह वा व्यक्ति सहभागि नभएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । 

जेन–जीकी अर्की प्रतिनिधि अञ्जु राईले आन्दोलनका शहीदहरूको बलिदान व्यर्थ हुन नहुने धारणा राख्नुभयो ।  उहाँले २०८४ सालमा हुने आवधिक निर्वाचनलाई २०८२  सालमा गर्नको लागि मात्र आफूहरुले आन्दोलन नगरेको स्पष्ट पार्नुभयो । उहाँले जेन–जी आन्दोलनले उठाएका मागहरु सम्बोधन नभए फेरी आन्दोलनमा जाने चेतावनी समेत दिनुभयो । उहाँले जेन–जी पुस्ताका माग सम्बोधन गर्न तथा शहीदका परिवारलाई राहत तथा क्षतिपूर्ति दिन माग गर्दै प्रधानमन्त्रीलाई लिखित निवेदन दिएपनि सरकारले गम्भीरता नदेखाएको आरोप लगाउनु भयो । 

त्यस्तै, ज्योतिका फुर्केलीले जेन–जी पुस्ता आपसी विभाजनको मार्गमा हिँडेकै कारण पुराना राजनीतिक शक्तिहरू शिर उठाउन थालेको बताउनु भयो । उहाँले जेन–जी  आन्दोलनले निकास नपाए समाजमा जेन–जी पुस्ता आतंककारी ठहरिने भन्दै यसप्रति सबै सचेत हुनुपर्ने बताउनु भयो । उहाँले मुलुकमा सुशासन कायम गर्नको लागि जेनजीबीको एकताको विकल्प नरहेको जिकिर पनि गर्नुभयो । 

फुर्केलीले सबै जेन–जी समूहलाई एकजुट भई मूल आन्दोलनका माग पूरा गर्नतर्फ लाग्न आह्वान समेत गर्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here